काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनापछिको पहिलो बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले अरु कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मिति भने तय भइसकेको छैन ।
यस्तै अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने तयारी पनि भएको छ । सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ ।
त्यसैगरी आइतबार बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्ने तयारी छ ।