काठमाडौं । जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ ।
.
एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख डोज दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय संगठनसँगको खरिद सम्झौता पूरा भएपछि सार्वजनिक गरिने छ । जापानबाट कोरोनाविरुद्धको खोप आइसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।
जापानी दूतावासले भनेकै समयमा खोप नेपाललाई उपलब्ध गराएमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका जेष्ठ नागरिकले पाउने छन् ।




