माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको नेता रायमाझीको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको नेता रायमाझीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसीमले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भूमिगत र छापामार किसीमले चलिरहेको आरोप लगाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका नेता रायमाझीले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको दाबी गरे । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे ।

नेता रायमाझीले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्धन्द चलेको भन्दै उनले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरु बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि जिकिर गरे ।

राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफूहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उनको भनाई छ ।

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्नपनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);