एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गरेका छन । ट्रम्पले अमेरिकाको मियामीस्थित जिल्ला अदालतमा फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गरेका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका जैक डोर्सी र गुगलका संस्थापक सुन्दर पिचईलाइ हदैसम्मको कारबाहीको माग गरिएको छ । मुद्दाको फैसला आफनो पक्षमा आउने दाबी गर्दै ट्रम्पले मुद्दाले अमेरिकी इतिहासमा वाक र अभिव्यक्ति स्वतन्त्रताको जित हुने विश्वास व्यक्त गरेका छन ।
यी तीनवटा सामाजिक सञ्जालहरुले ट्रम्पको एकाउन्टमाथि प्रतिबन्ध लगाएका छन् । गत जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित संसद् भवनमा भएको हिंसात्मक झडप भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पको एकाउन्टमा अस्थायी र स्थायी प्रतिबन्ध लगाएका हुन् ।




