राजकुमार दिक्पाल,
नेपालको राजनीतिक इतिहासमा भीमसेन थापा एक अधिनायकका रुपमा लामो समय शासनसत्तामा रहने व्यक्ति हुन् । नेपालमा प्रधानमन्त्री (प्राइमिनिस्टर) पद लिने पहिलो ब्यक्ति भने भीमसेनकै भतिजा माथवरसिंह थापा हुन् ।
भीमसेनको समयमा प्रधानमन्त्री भन्ने पद नेपालमा भित्रिइसकेको थिएन । उनको समयमा उनलाई मुख्तियार भनिन्थ्यो । पछि सेनाको सर्वोच्च पद जनरल भने उनले ग्रहण गरेका थिए ।
उनकै पालादेखि अङ्ग्रेज सेनामा जस्तै जनरल, कर्णेल आदि पद नेपालमा भित्रिएको हो । यसअघि सैन्यअधिकारी पदमा काजी, सरदार, कुम्भेदान आदि पद नेपाली सेनामा प्रचलित थियो ।
आफ्नो घर गोरखा, बोर्लाङको पिपलबोट हुनु, आफ्ना बाबु सेनाको जमदार हुनु तथा तत्कालिन बालक राजा रणबहादुर शाहको ब्रतवन्ध गोरखा दरबारमा हुनुले यिनले रणबहादुर शाहसँग निकट हुने अवसर पाएका थिए । रणबहादुर शाह र भीमसेन थापा एक महिनाको फरकमा जन्मेकोले समवयी थिए ।
जवान भएपछि राजा रणबहादुर शाहले राज्यभार ग्रहण गरेपछिको पहिलो पजनीमा नै भीमसेन थापाले सुवेदार पदको जिम्मेवारी पाउनुका साथै रणबहादुर शाहको अङ्गरक्षक समेत भएपछि उनले थप उन्नति र प्रगति गर्ने अवसर पाए । त्यतिखेर उनका बुवा अमरसिंह थापा (साना)ले पनि सरदारको जिम्मेवारी पाएका थिए (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापा ः यिनलाई मैले जस्तो देखेँ’–२०६५, पृ. ३) ।
आफ्नी प्रिय रानी कान्तवतिको मृत्यूपछि उनको कोखबाट जन्मेका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजपाठ सुम्मेर स्वामी बनिसकेका रणबहादुर शाहले राजदरबारभित्र राजनीतिक हस्तक्षेप गर्न छाडेका थिएनन् । राजपरम्परा जोगाउन दामोदर पाँडे लगायतका काजीहरुले नावालक राजा गीर्वाणयुद्धलाई सुरक्षार्थ नुवाकोट दरबारमा लगेर राखेका थिए । सन्की र उग्र स्वभावका स्वामी महाराज रणबहादुर चाहिँ अनेक किसिमको उदण्डता देखाउनमा व्यस्त थिए ।
त्यहीँ क्रममा रणबहादुर शाहतर्फ बफादार सैनिकहरुले रसद सघाउनी ल्याउने र झारा बेठीमा नुवाकोट आउने प्रजाहरुलाई रोकिदिदा उनीहरुलाई नरोक्नु, उनीहरुलाई रोक कडा सजाय हुने त्रास गीर्वाणयुद्ध राज भइरहेको नुवाकोट दरबारबाट जारी भइरहेकै थियो । यस्तो विद्रोहलाई दमन गर्न भनी दामोदर पाँडे नुवाकोटबाट पुरा तयारीका साथ काठमाडौंतिर बढ्दा रणबहादुर शाह डराए ।
उनी आफूलाई थुनामा राखिदेलान् भन्ने डरले वि.सं. १८५७ जेठ ८ गते विहानै ५ बजे दुई जमदार, तीन जना खवास केटा र ८ जना पुतुवारका साथ पाटनबाट ठिंगनको बाटो मकवानपुर निस्की जेठ १७ गते भागेर काशी पुगे (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२, पृ. ४७)।
काशीबास अवधिभर भीमसेन थापाले त्यहीँ पुगेर रणबहादुर शाहलाई भरमग्दुर साथ र सहयोग दिदै रहे । काशीबासको ३ वर्षपछि भीमसेन थापाकै भर र विश्वासमा उनी वि.सं. १८६० फागुन २० गते स्वदेश फर्के । थानकोटमा उनको भब्य स्वागत भयो । उनलाई स्वागत गर्न पुगेका दामोदर पाँडे पक्राउ परे ।
रानी सुवर्णप्रभा जेल परिन्, जेठी महारानी राजराजेश्वरीलाई हेलम्बुजस्तो चिसो ठाउँमा धपाइयो । आफ्ना छोराहरुसहित दामोदर पाँडे काटिए । काशीबासको बेला विना विवाह घर भिÏयाइएकी सुन्दरी युवति महताब, चन्द्रवती, अमरराज्यश्वेरी तथा ललितत्रिपुरसुन्दरीलाई विवाह गरेर जोगीको भेषमा ठाँटबाँटका साथ रणबहादुर शाह दरबारभित्र पसी रणबहादुर शाह राजकाज चलाउन लागे (नेपाल, उही, पृ. ५६–५८)।
भीमसेन थापा पहिल्यैदेखि रणबहादुर शाहको दाहिने हात त छँदै थिए, स्वामी राजा रणबहादुर राजकाजमा फेरि फर्किएपछि भीमसेन थापा मुख्तियारको हैसियतमा पुगिसकेका थिए । रणबहादुर शाहकी पछिल्ली रानी ललित त्रिपुरसुन्दरी उनैका भाई नयनसिंह थापाकी छोरी थिइन् ।
१८ हजार रुपैयाँको निहुँमा नरसंहार
रणबहादुर शाह स्वदेश फर्केपछि विभिन्न विषयलाई कचहरिमा ल्याउन थालियो । उनको काशीवासको समय अङ्गे्रज राजदूत नाक्सलाई बोलाएर कीर्तिपुरमा इस्ट इण्डिया कम्पनीको ब्यापारकोठी खोल्न दिने वाचा गरेको अभियोगमा एकाएक भारदारहरु पक्राउ पर्न थाले । यसैक्रममा काजी त्रिभुवन प्रधानलाई सरकारी ढुकुटीबाट १८ हजार रुपैयाँ मासेको अभियोग पनि लगाइयो । रणबहादुर शाहले राजकाजमा हात हालेको २५ दिनभित्रै यस्तो काम भएको थियो ।
काजी त्रिभुवन प्रधानको सर्वश्व खोसिएको थियो । हालः आरवी कम्प्लेक्सनेर रहेको रणमुक्तेश्वरको घर त्रिभुवन प्रधानको थियो । यसलाई खोसेर स्वामी महाराजको अस्थायी निवास बनाइएको थियो । तर यो भवन राजा गीर्वाणयुद्ध विक्रम शाहको भाकाबाट वकसपत्र गरी काजी कीर्तिमानसिंह बस्नेत र काजी बख्तावरसिंह बस्नेतकी आमा चित्रावतिलाई दिइएको थियो ।
महाअभियोग लगाइएर सर्वश्व र ज्यान सजाय पाएर काटिन तयार पारिएका काजी त्रिभुवन प्रधानले काटिनुअघि सबै पोल खोल्छु भनेपछि उनको प्राणदण्ड एक दिनका लागि ट-यो ।
त्यसको भोलीपल्ट वि.सं. १८६३ वैशाख २६ गते राती १० वजे त्रिभुवन प्रधानबाट जफत गरिएको घरमा कचहरी बस्यो । यसमा चौतारिया शेरबहादुर शाही (रणबहादुरका सौतेला भाई)को पनि संलग्नता छ भन्ने पोल खुल्दा उनलाई स्वामीमहाराजबाट ‘बोलावटअनुसार सहज रुपमा उपस्थित हुन, आएन भने जवरजस्तीसङ्ग भए पनि पक्रेर ल्याउनू’ भन्ने आदेश भयो ।
शेरबहादुर आएपछि यी दुई दाजुभाईबीच भनाभन हुँदा शेरबहादुर शाहीले आफ्नो कम्मरमा रहेको तरबार झिकेर रणबहादुर शाहको घाँटीमै प्रहार गरेका थिए, तर प्रहार पेटमा लाग्यो । तत्कालै रणबहादुरको सहयोग याचनामा बालनरसिंह कुँवरले शेरबहादुर शाहीलाई ढालिदिए । रणबहादुरको घायल सरीरलाई ओछ्यानैमा राखी तल पटाङ्गिनीमा ल्याइयो । त्यतिखेर भीमसेन थापा घटनास्थलमा थिएनन् । उनी भात खान बागदरबार गएका थिए (आचार्य, उही, पृ. २६–२८)।
यति ठूलो घटना घटिसकेपछि भात खाएर हात पुछ्दै भीमसेन थापा त्यहाँ आइपुगे । त्यहाँ आइपुग्ने बित्तिकै ‘चौतारिया, गुरु पुरोहित, पाँडे, बस्नेत थरघर तिमीहरु सबै बसी बसी स्वामीलाई गादीमा मरायौ, लौ हेर अब तिमीहरुको तमासा, टेकुदोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिनँ भने म भीमसेन थापै होइन’ भनेर सबैलाई ललकार्दै तिलङ्गाघर घेर्न लगाए ।
चौतारिया बम शाहले स्वामी महाराजको शव आर्यघाट चलाए ।
त्रिभुवन प्रधान र अर्का काजी नरसिंह गुरुङलाई तत्कालै भण्डारखालमा लगेर काटियो । चौतारिया विदुर शाही (शेरबहादुरका दाजु)लाई पनि तत्कालै मार्न लगाइयो । विगत २ वर्षदेखि नजरवन्दमा रहेका पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाई रणबहादुर सेनलाई मात्र होइन, उनीहरुका २ देखि १५ वर्षका छोराहरुलाई पनि विष्णुमतिपारी लगेर काटियो ।
पाल्पाली राजाका १८ जना सिपाही र नोकरहरुलाई दरबारभित्रकै बगैँचामा लगेर काटियो । अरु अङ्गरक्षक र खजाञ्ची जगन खवासलाई पनि काटियो । उनीहरुका स्वास्नी, छोरी, कमारी, स्त्री जतिलाई च्यामे पोडे लगाएर जात पतित गरियो (नेपाल, उही, पृ. ६३–६४)।
भीमसेन थापाको तलब
स्वामी महाराजाको हत्या भएपछि यहीँ निहुँमा भीमसेन थापाले नरसंहार मच्चाएर आफ्नो विपक्षमा गुञ्जन सक्ने सम्भावित स्वरलाई बन्द गरिसकेका थिए । राजा गीर्वाणयुद्ध विक्रम शाह नावालकै थिए । यस्तो अवस्थामा राजामाताको हैसियतले नायवीसहित ललित त्रिपुरसुन्दरीको हातमा शासनसत्ता गयो । ललित त्रिपुरसुन्दरी भीमसेन थापाकी भतिजी थिइन् । राजमाताको ध्यान राजकाजभन्दा पनि धर्मकर्मतिर बढी थियो । त्रिपुरेश्वरको त्रिपुरेश्वर महादेव, धरहरा उनै ललित त्रिपुरसुन्दरीलाई सम्झाउने कीर्तिहरु हुन् (गंगा कर्माचार्य, ‘सिनास जर्नल’ वर्ष २७ अङ्क २–सन् २००० जुलाई, पृ. २७२)।
आफ्नी भतिजी राजमाता भएको बेला राज्यको सर्वेसर्वा मुख्तियार भने स्वयम् भीमसेन थापा थिए । उनैको समय नेपाल र अङ्ग्रेजबीच ठूलो युद्ध भएको थियो । त्यो युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाएर अँग्रेजसङ्ग सन्धि गर्नु परेको थियो । इतिहासमा यो सन्धि ‘सुगौली सन्धि’का नामले चर्चित छ ।
सुगौली सन्धिअघि उनकै समयमा भएको राज्यविस्तार अभियानका क्रममा गोरखाली (नेपाली) सेना काँगडासम्म पुग्दा उचित सफलता मिल्न सकिरहेको थिएन । दुई तीन वर्षको युद्धमा आफ्ना सैनिकहरुको कमजोरीबारे भीमसेन थापालाई राम्रैसङ्ग ज्ञान थियो ।
उनले सैनिकको सङ्ख्या बढाउनुका साथै उनीहरुलाई समुचित तालिम दिनु पनि अत्यावश्यक भएको उनले औल्याए । सैनिकहरुको खान्कीको लागि स्वामी महाराजको सहमतिमा नेपालभरका ब्राहृमणहरुको कुशविर्ता र देवदेवीका गुठी जग्गाहरु हरण गरिदिए । वि.सं. १८६२ मा यस्तो ब्यवस्था भएकोले यसलाई नेपाली इतिहासमा ‘बासठ्ठीहरण’ भनेर चिनिन्छ ।
उनले आफैले पनि ठूला–ठूला विर्ता खान्कीहरु लिए ।
उनले सबैभन्दा पहिले काजी पदको नियुक्ति लिँदा ११२ खेत अर्थात् २८०० रोपनी जमिनको कुतबाली उठाउन पाउने अधिकारका साथसाथै वार्षिक रु. ३५००÷– नगद पारिश्रमिक पनि प्राप्त गरेका थिए । पछि जनरलको पदमा पदोन्नत हुँदा यिनको खान्कीमा रु. ४०००÷– थप गरिएको थियो । यस अर्थमा उनको बार्षिक तलब २८०० रोपनी खेतबाट आउने अनाज र रु. ७५००÷– थियो । त्यस जमानामा १ रुपैयाँको ३ पाथी मसिनो चामल किन्न पाइन्थ्यो (आचार्य, उही, पृ. २३–२४)।
भीमसेन थापाले पाएको त्यो नगद तलबलाई अहिले नेपालमा पाइने सबैभन्दा महङ्गो चामलको मूल्यसङ्ग तुलना गर्न सकिन्छ ।
बडा विजोगको मरण
लगातार ३३ वर्ष अकण्टक अधिनायकका रुपमा नेपालको सत्तामा रहेका भीमसेन थापाको त्यो दिनदेखि पतनको समय सुरु भयो, जुन दिन उनकी सहोदर भतिजी राजमाता ललित त्रिपुरसुन्दरीको देहान्त भयो । यी राजामाताले नावालक राजाहरु गीर्वाणयुद्धविक्रम र राजेन्द्रविक्रमको नायवी लिएकी थिइन् । रणबहादुर शाहसहित तीन राजा भीमसेन थापाले ब्यहोरेका थिए ।
यी राजमाताको निधनपछि पाँडेखलकको सहयोग र समर्थन प्राप्त राजेन्द्रविक्रमकी जेठी महारानी साम्राज्यलक्ष्मीले थापा खलक र त्यसमा पनि भीमसेन थापालाई राजाको नजरबाट गिराउने क्रम सुरु गरिन् । यसैक्रममा उनले ‘भीमसेन थापाले राजवैद्यमार्फत् विष मिसिएको औषधी गीर्वाणयुद्ध विक्रम शाहलाई सेवन गराएकोले उनको मृत्यू भएको थियो र हालको राजाले विरामी अवस्थामा औषधी सेवन गर्दा सतर्क रहनुपर्छ’ भन्ने प्रचार गुप्त रुपमा गरिदिइन् । भीमसेनका सहोदर कान्छा भाई रणवीरसिंह थापा र दामोदर पाँडेका साहिँला छोरा रणजङ्ग पाँडेले पनि शिर उठाइरहेका थिए (कर्माचार्य, उही, पृ. २७१–२७२) ।
भीमसेन थापाको पतनको समय सुरु भइरहेकै बेला राजकुमार देवेन्द्रविक्रम शाहको मृत्यू भयो । फेरि विरोधी दलका लागि यो उपयुक्त अवसर हुन पुग्यो । उनीमाथि विष मुद्दा लाग्यो । उनी आफैले स्थापना गरेको हनुमानदल पल्टन लगाएर उनलाई बागदरबारमा गिरफ्तार गरी त्यहीँ कैद गरियो । रणजङ्ग पाँडे सत्तामा थिए । तीन महिनापछि रङ्गनाथ पण्डित (पौडेल) सत्तामा आए ।
उनले राजालाई बिन्ति गरेर न्यायिक सभा राख्दा भीमसेन थापाको दोष प्रमाणित हुने कुनै प्रमाण फेला नपरेपछि उनी थुनामुक्त भए । तर शक्ति सङ्घर्ष चर्कदै जाँदा फेरि रणजङ्ग पाँडे सत्तामा आए, विष मुद्दा बल्झियो । भीमसेन थापा थुनामा परे ।
उनकी श्रीमतिलाई पनि कडा नजरबन्दमा राखिएको थियो । भीमसेन थुनामा रहेकै बेला उनको कानले सुन्ने गरी ‘उनकी श्रीमतिलाई दिउँसै नाङ्गै शहर डुलाउने योजना छ, उक्त दृश्यलाई उनले घाँटीसम्म गुहु–मूतमा डुबेर हेर्नुपर्नेछ’ भन्ने हल्ला विरोधी दलले चलाइदिए । यो सहन नसकेर उनले आफ्नो कम्मरमा भिरेको खुकुरीले सेरिएर आत्महत्या गर्ने प्रयास गरे (कर्माचार्य, उही, पृ. २७३–२७७) ।
उनी आत्महत्याको प्रयासबाट अर्धचेत अवस्थामा रहेको बेला राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मीको हुकुमअनुसार रगतले लतपतिएको उनको सरीर त्यसैदिन विष्णुमतिको वगरमा लगेर वेवारिस अवस्थामा फ्याँकियो ।
त्यो बगर त्यहीँ बगर हो, जहाँ उनले ३३ वर्षअघि चौतारा विदुर शाही र शेरबहादुर शाही, काजीहरु त्रिभुवन प्रधान र नरसिंह गुरुङ तथा पाल्पाली राजा पृथ्वीपाल सेनलगायत ४५ जनाको लाशहरुलाई उनै भीमसेन थापाले अमानवीय रुपमा स्याल, कुकुर र गिद्धहरुलाई लुछाइदिएका थिए । आत्महत्याको प्रयासबाट अर्धचेत अवस्थामा रहेको ९ दिनपछि वि.सं. १८९६ साउन १६ गते उनले प्राण त्यागे (आचार्य, उही, पृ. ६३)।
यसरी एउटा अकण्टक अधिनायकको बडो विजोगले प्राणान्त हुन पुग्यो ।