कास्की । पोखरामा पहिलो आकाशे पुल निर्माण भएको छ । पोखरा महानगरपालिका वडा नं -८ सिर्जना चोकमा पोखरा क्षेत्रकै पहिलो आकाशे पुल निर्माण भएको छ । अब पुलको माथिल्लो भागमा छाना हाल्न र रंग रोगन गर्ने काम बाँकी रहेको वडाध्यक्ष रूदनाथ बराल बताउँछन्। करिब २ करोड ५४ लाखको लागतमा स्टिल स्ट्रक्चर संरचनामा बनेको उक्त पुलको उचाई भने ८ मिटर रहेकाछ ।
पुलको उद्धघाटन भने यही महिनाको मसान्त भित्रै हुने गरी तयारी गरिएको वडाध्यक्ष बरालले जानकारी दिए । चारैतर्फ बाटो रहेको उक्त पुल निर्माण भएपछि व्यस्त रहने सिर्जना चोकमा बाटो काट्दा सडकमा हुन सक्ने सवारी दुर्घटनालाई समेत यसले केही सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
केएमजेबिएनएस पोखरा जेभिले यसको जिम्मा लिएको भए पनि प्राविधिक कारणले गर्दा उक्त परियोजना निर्धारित समय भन्दा केही ढिलो सम्पन्न भएको थियो । स्व.युवा तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले सांसद विकास कोषको ५० लाख रुपैयाँ लगानी भएको हो भने बाँकी रकम पोखरा महानगरपालिकाले लगानी गरेको अध्यक्ष बरालले जानकारी दिए।
पोखरामा ट्राफिक जामलाई मध्यनजर गर्दै महानगरपालिकाले सिर्जना चोकमा पोखराकै पहिलो आकाशे पुल निर्माण गरेसँगै अन्य ठाँउमा समेत आकासे पुल निर्माण गर्ने मेयर मानबहादुर जिसीले जानकारी दिएका छन् ।