एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ ।
पेड्रो ओलम्पिक स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिन पुग्यो । खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ’बी’ को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोडेको छ भने इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।