रेशम चौधरीपछि दिपक मनाङेको चर्चा चुलियो, मनाङे र प्रचण्डबीच के छलफल भयो ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रेशम चौधरीपछि दिपक मनाङेको चर्चा चुलियो, मनाङे र प्रचण्डबीच के छलफल भयो ? (भिडियाेसहित)

सामाजिक सञ्जालमा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटको तस्वीर सार्वजनिक गर्दै दिपक मनाङेले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ भन्ने सन्देश पनि राखेका छन् । गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।

केही दिन अघि मुख्यमन्त्रीमा नियुक्त भएका काग्रेस नेता कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् । ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस, माओवादी र मनाङेले कसरत गरिरहेका छन् ।

मन्त्री भइसकेपछि राम्रो मन्त्रालयका लागि पहल गर्नु त स्वभाविक नै हो। तर हेर्दाहेर्दै प्रहरीसँगको लुकाछिपि गर्ने अवस्थामा रहेका दिपक मनाङे अर्थात् राजिव गुरुङ मन्त्री बनेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् । ठूला दलहरुकै बीचमा सत्ताको छिना झप्टीको खेल उत्कर्षमा पुग्दा मनाङेलाई भने मन्त्री पद स्वीकार गरे पुग्ने अवस्था सृजना भयो ।

हुनत नेपालमा विवादित पृष्ठभूमि भएका व्यक्तिहरु राजनीतिमा आएर माथिल्लो ओहदामा पुगेका कयौँ उदाहरण छन् । ६ जनाको ज्यान जाने गरी भएको बम विष्फोटका प्रमुख अभियुक्त बबनसिंह देखि टिकापुर हत्याकाण्डका मुख्य योजनाकार मानिने रेशम चौधरीसम्म चुनाव जितेर माननीय भएका छन् । मानिसलाई जिउँदै इटा भटृामा पोल्ने अफताव आलम पनि आफ्नो पार्टीमा लोकप्रिय छन् । तर उनीहरुलाई उछिन्दै दिपक मनाङे सांसद पदमा मात्र सीमित रहेनन् उनी मन्त्री नै भए ।

एमालेको समर्थनमा निर्वाचन जितेका दिपक मनाङे यस अघि गण्डकी प्रदेशमा एमालेको सरकार हुँदा केही दिनका लागि मन्त्री भएका थिए । तर पछिल्लो समय गण्डकी प्रदेशमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन मनाङे संसदमा अनुपस्थित भएका थिए । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने बताएका उनी मोबाइल स्वीच अफ गरेर हराए पछि मनाङेले नयाँ सरकारबाट विशेष पुरस्कार पाउने अनुमान गरिएको थियो । नभन्दै मनाङेले नयाँ सरकार गठन भएको भोलिपल्टै मन्त्री पदको सपथग्रहण गरे ।

विवादित छवि भएका मनाङे बारम्बार पक्राउ पर्ने र छुट्ने झण्झटमा थिए । मनाङेले राजनीतिक संरक्षणको खोजी गर्दै गर्दा मनाङे विभिन्न राजनीनिक दलहरुसँग जोडिन पुगे । केही समय राप्रपाका पशुपति शम्शेर राणासँग नजिक भएका मनाङे राणाको बडीगार्ड समेत बनेका थिए । राप्रपामा कमल थापासँग समेत नजिकिएका मनाङे त्यसपछि कांग्रेस नेता किशोर सिंह राठौरसँग नजिक भए । मनाङे कांग्रेसकै भातृ संगठन तरुण दलमा आबद्ध मात्र भएनन् ।

उनी तरुण दल मनाङको सभापति समेत भएका थिए । २०६३ सालको परिवर्तन पछि लक्ष्मण थारुले माओवादी छाडेर अलग मोर्चा बनाएसँगै मनाङे लक्ष्मण थारुसँग पनि नजिकिए । लक्ष्मण थारुसँगको यात्रालाई विश्राम दिएका दिपक मनाङे एमालेसँग नजिक भए ।२०७४ साल मंसिरमा भएको प्र

देशको चुनावमा मनाङेले एमालेबाट टिकट माग्ने धेरै प्रयास गरे तर पाउन सकेनन। पछि उनी स्वतन्त्र उमेद्धवार भएर चुनाव लडे र जिते पनि । मनाङ प्रदेश सभा क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका मनाङेलाई तत्कालिन नेकपा एमालेले समर्थन गरेको थियो ।

ठमेलबाट विवादित यात्रा सुरु गरेका दिपक मनाङे अहिले देशकै प्रमुख राजनीतिक दलका नेताहरुसँग, देशलाई कसरी निकास दिने भन्ने बारेमा छलफल गर्ने महत्वपूर्ण व्यक्ति बन्न पुगेका छन् । ठमेलमा मनाङे समूहले हप्ता तथा मासिक असुली गर्र्ने गरेको गुनासो सयौं पटक प्रहरीकोमा पुग्यो । अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा समेत चलाएको थियो तर मनाङेले सफाइ पाए। विवादित छवि र बारम्बार प्रहरीले खोजिरहने झण्झटले प्रहरी चंगुलबाट बच्न सकिन्छ कि भनेर विभिन्न दलमा प्रवेश गरेका मनाङे राजनीतिको केन्द्रमा पुग्नु कति स्वभाविक छ, कति अस्वभाविक? आफै अनुमान लगाउन सकिन्छ ।

राजनीतिक संस्कार नै गलत भएपछि मनाङेले जित्नु नौलो कुरा होइन । जेलमा रहेका रेसम चौधरी सत्ता परिवर्तन गर्ने व्यक्ति बन्नु अब नेपालका लागि नयाँ कुरा रहेन । सोचनीय विषय त के छ भने जिन्दगीभर निष्ठाको राजनीति गर्ने विभिन्न पार्टीका निष्ठावान नेताहरु पार्टीबाट तिरस्कृत हुँदै घरमा थन्किन बाध्य छन् । आपराधिक चरित्रका व्यक्ति उपल्लो तहमा पुगेका छन् । जनताहरु रमिता हेरेर बसिरहेका छन् । टिकट दिनेले पैसा वाला उम्मेद्धवार खोज्छ, जनताले पनि पैसा खर्च गर्नेलाई भोट दिन्छन् । पैसा वाला पदमा पुगेर आफूले गरेको खर्च असुल्न तर्फ लाग्छ । पैसा नहुनेहरु चुनाव लड्न नसक्ने अवस्था आएको छ ।

बाढीमा डुबेका जनातालाई भेट्न नजाने नेताहरु जिँउदै मानिस इटाभटृामा जलाउनेहरुलाई भेट्न जेल जान्छन् । हत्याहिँसामा संलग्न भएर सजाय भोगिरहेकाहरुको रिहाईका लागि राष्ट्रिय राजनीतिमा छलफल गर्ने नेताहरुले कोरोना कहरमा जनताले अक्सिजन नपाउँदा चासो समेत देखाएनन् । आज नेपाल माथि उठ्न नसक्नुका पछाडि यस्तै कारणहरु खोज्दै जाने हो भने, अनगिन्ति उदाहरण भेटिन्छन् । नेपालमा सक्नेले विकृत राजनीतिको भरपुर प्रयोग गरिरहेका छन् । नसक्ने युवाहरु खाडीतर्फ पलायन भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);