श्याम गुप्ता,
बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिल प्रा.लीमा शनिबार बेलुकी आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ भने चार मजदुर घाइते भएका छन् ।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की माथि वेल्डिङ्ग गर्ने क्रममा बेलुकी साँढे सात बजे आगलागी भएको हो ।
आगलागीमा परी दुई मजदुरको घटना स्थल मैं मृत्यू भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए । दुई वटा वरूणयन्त्रको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा भारतको बिहार स्थित पश्चिम चम्पारण घर भएका ४० वर्षीय प्रदिप गौण र बिहार कै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।
घाइते हुनेहरूमा राजकुमार विक , इन्द्रप्रसाद अधिकारी , नवराज चौलागाईं र अवधेस कुश्वाहा रहेका छन् । उनीहरुको सिमरा स्थित तराई सिमरा अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका विकलाई वीरगंजको वयोधा अस्पतालमा रिफर गरिएको छ ।
यस उद्योगमा यस्ता खालका घटनाहरू पटक पटक हुँदै आएका छन् । केही समय अगाडी पनि कवाड गलाउने भट्टी विस्फोट हुँदा एक मजदुरको मृत्यु भएको थियो भने दुई घाईते भएका थिए ।
उद्योगको लापरवाहीका कारण मजदुरहरूको मृत्यु हुने गरकोले स्थानीयहरुमा त्रास बढ्ने गरेको छ । सिमरामा कवाड गलाउने भट्टी बन्द गराउन स्थानीयले पटक पटक दवाब दिए पनि उद्योगले अटेरी गर्दै आएको छ ।