काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।
नेपालआयलनिगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।
बुधबारबाट सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएकोले आन्दोलनका कार्यक्रम फिर्ता लिएका संघका अध्यक्ष ईश्वर लामाले बताए ।
बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमति अनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।
यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४ सयचालक–सहचालकलाई उतै खोप दिने सहमति भएको छ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।