एजेन्सी । राष्ट्रसंघीय बालबालिका कोष यूनिसेफले कोरोना विरुद्धको खोपको समान वितरण गर्न धनि मुलकका नेताहरुको ध्यानाकर्षण गराएको छ ।
युनिसेफले धनी मुलुकमा कोरोना खोप खेर गइरहेको तर गरीब मुलुकका जनता खोप नपाएरै मरिरहेको भन्दै धनी मुलुकहरुको संगठन जी सेभेनका नेताहरुलाई सचेत गराएको हो ।
यूनिसेफकी खोप नेतृत्वकर्ता लिली क्यापरानीले धनी देशहरुले आफ्नै देशका अरु भूभागमा झै गरी विश्वको जनसंख्यालाई खोप लगाउन सघाउनुपर्ने बताउँदै ती मुलुकहरुमा खोप लगाउनेको संख्या न्यून हुँदा पनि कम क्षमता भएका मुलुकलाई नदिएकामा आपत्ति जनाएकी छिन् ।
आफ्नो देशका बाँकी मानिस कहिले खोप लगाउन आउँलान् भनेर कुर्दासम्म खोपको आयु नै सकिने तर्फ पनि यूनिसेफले सचेत गराएको हो । ती देशमा बचेको कोरोना भाइरसविरुद्धको खोप एकै पटक गरीब मुलुकमा पठाइएमा ठूलो मात्रा खेर जाने चेतावनी पनि यूनिसेफको छ ।
गरीब देशहरुसँग भण्डारण क्षमता नभएको भन्दै यूनिसेफले एकै पटक नगरी वर्षभरमा पटक पटक गरी ती मुलुकहरुमा खोप पठाइनुपर्ने जनाएको हो । जी सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका संलग्न रहेका छन् ।