आधुनिक स्याउ खेतीतर्फ आकर्षित हुँदै जुम्ली युवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आधुनिक स्याउ खेतीतर्फ आकर्षित हुँदै जुम्ली युवा

सपना रावत,
जुम्ला । नेपालको सबैभन्दा उत्कृष्ट स्याउ खेती हुने जिल्ला जुम्ला हो । यतिबेला कोभिड – १९ को महामारीले कयौं बेरोजगार बने । यसरी आफ्नो गाउँघरमै सीमित हुनपुगेका जुम्ली युवा आधुनिक स्याउ खेती तिर आकर्षित भएका छन् ।

कोरोनाले गर्दा व्यापार, यातायात, शिक्षालय लगायत सबै प्रकारका क्रियाकलाप ठप्प छन् । अघिल्लो वर्षदेखि सुरु भएको महामारीले विदेशिएका नेपाली नेपाल फर्किन बाध्य भए । एक त बेरोजगार नेपाली युवा त्यसैमा झन् कोरोना संक्रमणले सबैलाई आफ्नै गाउँघर फर्किन बाध्य भएका सबैलाई निकै फुर्सदिलो बनाइदियो ।

तर चन्दननाथ नगरपालिका मालाभिडका युवा दिपेन्द्र बिक्रम हमाल भने आफूलाई पटक्कै फुर्सद नभएको बताउँछन् । गत वर्ष कोरोनाले गर्दा निषेधाज्ञा सुरु भएसँगै उनले पनि जुम्लामै आधुनिक कृषि खेती गर्ने योजना बनाए । यसरी हमालले “हमाल एग्रो एण्ड रिसर्च सेन्टर“ स्थापना गर्दै कालिज, लोकल कुखुरा बाट सुरु गरेको व्यवसाय अहिले दोश्रो लहरको कोरोना अवधिमा इटालियन फुजि स्याउको खेती सुरु गरेका छन् ।

उनका अनुसार यसपटक एक हजार २ सय फुजि स्याउका बोट लगाएका छन् । जसमा उनले फुजि किकु, किङ रुट, डेलिसियस, रेड गोल्डेन, गाला गरि ५ प्रजातिका इटालियन फुजि स्याउ लगाएका छन् । साथै उनले ५० ओटा च्याड्लर प्रजातिका ओखरका बोट पनि लगाएका छन् ।

नेपाल कृषि प्रधान देश भएको र जुम्ला जिल्ला स्याउको पकड क्षेत्र भएकोले कृषिबाट आफ्नै जिल्लामा केही गरौं भनेर यो क्षेत्र रोजेको उनले बताए । अहिलेसम्म करिब ४५ लाख बढी लगानी गरेको हमालले बताए । युवा व्यवसायी हमालले कालिज, लोकल कुखुरा पालनको लागी ह्याचरी मेसिन पनि किनेका छन् तर जुम्लामा बिद्युतको समस्याले यो मेसिन नचलेको उनको गुनासो छ ।

यस्तै अर्का युवा सरोज शाही र महेन्द्र कार्कीले पनि गत वर्ष देखि आधुनिक स्याउ खेतीमा संलग्न छन् । गत वर्ष इटालियन फुजि स्याउबाट करिब दस लाखको कारोबार गरेका उनीहरु यसपटक थप जागरका साथ काम गरिरहेको बताउँछन् । यसपटक मात्रै उनीहरुले करिब २ हजार ५ सय फुजि स्याउका बोट थप गर्दै ३२ सय स्याउका बोट पु¥याएका छन् । कुल दस हजार वर्ग मिटर क्षेत्रफल भाडामा लिएका उनीहरुले गोल्डेन फुजि, रेड डेलिसियस, गाला र रेड स्पर गरि चार किसिमका फुजि स्याउ लगाएका छन् ।

शाहीका अनुसार गत वर्ष ट्रायलको रुपमा लिँदा सम्भावना देखेको बताए । उनले भने, “इटालियन फुजिको सम्भावना देखेपछि ठूलो रिस्क लिएर भए पनि यस वर्ष ठूलो मात्रामा स्याउका बोट थप गरेका छौं । ”

यस्तै, अर्का युवा सञ्चालक महेन्द्र कार्कीका अनुसार युवाले नै केही गर्नुपर्छ भन्ने उदाहरण देखाउन युवाहरू मिलेर आधुनिक कृषि खेती तर्फ लागेको बताए । उनले भने, “हामी युवाहरू नेपालमा रोजगारी छैन भनेर गुनासो गर्छौं तर रोजगारी त आफैले सिर्जना गर्ने हो । ” अहिले यस कृषि फार्ममा वर्षभरि विभिन्न चरण गरि करिब दुई सयले काम पाउने र दुई जना नियमित कर्मचारी राखेको शाहीले बताए ।

निषेधाज्ञाको समय काम गर्नेका लागि एकदम सही समय भएको युवा व्यवसायीहरु बताउँछन् । यद्यपी यसका चुनौती भने नभएका होइनन् । जुम्ला जस्तो दुर्गम क्षेत्रमा विशेष बिद्युत, बजार, सडक, प्रविधि र प्राविधिकको ठूलो समस्या छ । यसमा सरकारको भूमिका उत्पादन बढाउने, बजार बढाउने र लागत घटाउने तर्फ ध्यान दिनुपर्ने हमालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);