सन्तोष बस्ताकोटी ,
तनहुँ । कोरोना कहरको समयमा समेत तनहुँको देवघाटमा नदीजन्य पदार्थको अवैद्य रुपमा उत्खनन् भएको भन्दै स्थानीयले विरोध गरेका छन् । धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा रहेको देवघाटको नदीमा अवैधानिक उत्खनन् भएको भन्दै बिहीबार गाउँपालिकामा स्थानीय युवाहरुले विरोध गरेका हुन् ।
देवघाट गाउँपालिकाको कालिभतेरी, सेतीभतेरी र भुवानीटारघाटबाट नदीजन्य पदार्थ उत्खनन् हुने गरेको छ ।
गाउँपालिकामा भएको उत्खनन् वैधानिक भएमा कागज पत्र सहित प्रमाण हेर्न आएका हौँ भन्दै स्थानीय गणेश बहादुर थापाले भने । नेपालमा शालिकग्राम पाइने एकमात्र नदी कालीगण्डकी जहाँ बहुमूल्य धातुहरु भेटिन्छ, प्रकृतिको ख्याल नै नगरी गरिएको दोहनको रोक्न विरोध गरेको थापाले बताए । दिनै भरी गाउँपालिकामा धेरै संख्यामा युवाहरु रहेको भए पनि उनीहरुको माग भने सम्बोधन भएन ।
ठेकेदारले सम्झौताभन्द बढी उत्खनन् गरेको र यसको बारेमा गाउँपालिकालाई जानकारी गराउँदा समेत बेवास्ता भएको थापाको आरोप छ । जनप्रतिनिधिहरुले अझ पनि चासो नदिएमा गाउँपालिकामा ताला लगाउन बाध्य हुने थापाले बताए ।
यस बीचमा देवघाट गाउँपालिकामा मापदण्ड विपरीत ग्रावेल उत्खनन् भएको समाचार संकलन क्रममा गएका एक संचारकर्मी माथि समेत ठेकेदारले दुव्र्यवहार गर्दै भौतिक आक्रमणको धम्की दिएको थियो । ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज सुशील लामिछाने कै अगाडि धम्की दिएको र हाल हाल्ने प्रयास समेत भएको थियो ।
उक्त घटना पछि कालिभतेरी नदी किनारबाट तीनवटा स्काभेटर नियन्त्रण लिएर देवघाट गाउँपालिकाको जिम्मा लगाएको थियो । तर गाउँपालिकाका उपाध्यक्ष विमला थापाले पाँच मिनेटमै पुनः स्काभेटर ठेकेदारलाई बुझाएपछि यो विषयमा स्थानीयको चासो बढेको हो ।
कार्यविधिमा स्काभेटर प्रयोग गरेर नदी उत्खनन् गर्न पाईदैन। गतवर्ष राजश्व तिरेको भएपनि कोरोनाका कारण नदीजन्य पदार्थ निकाल्न नपाएकाले उक्त समयको सम्झौता अनुसारको नदीजन्य पर्दाथ हाल उत्खनन् गर्न दिंदा अहिले धेरै देखिएकोले यो समस्या भएको उपाध्यक्ष थापा बताउँछिन् ।
जेष्ठ २ गते सम्झौता भएको र यो मसान्त सम्म सम्झौता अनुसारको नदीजन्य पदार्थ झिक्ने समय रहेकाले छिटो होस् भनेर गाउँपालिकाले नै निर्णय गरेर सानो जेसिभिको प्रयोग गर्ने अधिकार दिएको पनि उनले जानकारी दिईन् ।
अनुगमनको क्रममा राम्रै भेटेको बताउने उपप्रमुख थापाले प्रश्न उठेपछि बुधबार देखि उत्खनन्को काम बन्द गरिएको बताईन् । उनले भनिन् ‘बगेर जाने चिज हो, हाम्रो गाउँपालिकाको अन्य स्रोत छैन । राजश्वको आम्दानीको मुख्य स्रोत पनि यही हो । ’ उपाध्यक्षले भनिन् – धेरै संख्यामा मेसिनहरु राखेर उत्खनन् भईरहेको भए पुनः अनुगमन हुने र सो सम्बन्धी बाँकी कुरा भने गाउँपालिकाले छिटै विज्ञप्ति मार्फत बताउने थापाले बताईन् ।




