एजेन्सी । अमेरिकाले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिबारे छानबिन गर्न डब्ल्यूएचओलाई आह्वान गरेको छ । विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न आह्वान गरेको हो ।
अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्।
कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ ।
यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो । उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो ।
अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ । त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ।
यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन् ।
बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।