काजी जसलाई महारानीसँग करणी गरेको बात लाग्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

काजी जसलाई महारानीसँग करणी गरेको बात लाग्यो

राजकुमार दिक्पाल
इतिहासका अनेकौ पात्र र चरित्रहरु भेटिन्छन् । नेपाली इतिहासमा गगनसिंह नामका एक जना यस्ता काजी देखा परे, जसको रहस्यमय हत्यापछि उनको हत्यारा पत्ता लगाउन आयोजित कचहरी कोतपर्वमा परिणत भयो ।

तत्कालिन राजनीतिको शक्तिसन्तुलन उलटपुलट हुँदा राजा खोपीका देवता बन्न पुगे । गगनसिंहको हत्यारा पत्ता लगाउन आदेश दिने तत्कालिन महारानी काशीवासमा पुगिन् । जङ्गबहादुर सर्वेसर्वा भएर उदाए ।

गगनसिंह यस्ता पात्र हुन्, जो आफ्नो समयमा शक्तिशाली भारदार थिए । शक्तिमै हुँदा उनी मारिए । उनीमाथि महारानी राज्यलक्ष्मीसँग प्रेम प्रणय गरेको आशंका मात्र गरिएन, मरणोपरान्त औपचारिक आरोप पनि लाग्यो ।

यसअघि राजदरबारमा काजी सर्वजीत रानालाई रानी राजेन्द्रलक्ष्मीसँग र काजी किर्तिमानसिंह बस्न्यातलाई रानी सुवर्णप्रभासँग करणी विराएको बात लागेको थियो । दरबारमा चलेको गाईँगुईँपछि यी दुई काजी काटिएका थिए ।

तर गगनसिंहलाई भने रानीसँग करणी विराएको बातमै हत्या त गरिएन, तर उनी मारिएको चार वर्षपछि बनारसमा निर्वासित महारानी राज्यलक्ष्मीमाथि उनले अर्का पुरुष दलबहादुर थापाका साथै काजी गगनसिंहसँग कुन साल, कुन महिना र कुन दिन करणी विराएको हो भनी खोजविन गर्न राजा राजेन्द्रले राजगुरु पण्डित विजयराज पाण्डेलाई अह«ाई खटाई गरेको समेत इतिहास पाइन्छ ।

सर्वशक्तिमान काजी
इतिहास अध्ययन गर्दा गगनसिंह सानैदेखि दरबारमा हुर्केबढेको देखिन्छ । इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः१८३–१८४)अनुसार गगनसिंह सानैदेखि दरबारमा हुर्की बढेर कान्छी महारानीको नजिक पुगेका थिए । उनी महारानी राज्यलक्ष्मीका जेठा साहेवज्यादा (आफ्नो कोखपट्टिका जेठा छोरा)का ददा थिए ।

बालक अवस्थामा स्याहार तथा सम्भार गर्न भनी राखिएका ब्यक्तिलाई ददा भनिन्छ । यस अर्थमा राज्यलक्ष्मीका जेठा छोरा रणेन्द्रका उनी ददा थिए । त्यसैले आफूतिरका जेठा छोरा रणेन्द्रलाई राजा बनाउने महङ्खवाकाँक्षा बोकेकी महारानी राज्यलक्ष्मीले गगनसिंहलाई आफ्नो छोराको भलोमा प्रयोग गरेकी थिइन् ।

वंशावलीअनुसार राजा राजेन्द्रका दुई गुँडका पाँच छोराहरुमध्ये सुरेन्द्र, उपेन्द्र र देवेन्द्र जेठी महारानी साम्राज्यलक्ष्मीतिरका हुन् भने रणेन्द्र र वीरेन्द्र कान्छी महारानी राज्यलक्ष्मीतिरका हुन् ।
आफ्नी सौता जेठी महारानी साम्राज्यलक्ष्मीको वि.सं. १८९८मा निधन हुँदा राज्यलक्ष्मी २४ वर्षका थिइन् भनी प्रकाश ए. राजले ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’(२०६१ः२४)मा उल्लेख गरेका छन् ।

सौताको निधन राज्यलक्ष्मीका लागि बाटोको अवरोध हटेजस्तै भयो । मनभित्र सुसुप्त रुपमा गुम्सिएर रहेको आफ्ना छोरा रणेन्द्रलाई नेपालको राजा बनाउन उनको इच्छा क्रमशः बाहिरी रुपमै प्रकट हुन थाल्यो । उसै पनि राजा राजेन्द्र कमजोर प्रकृतिका थिए । यहीँ फाइदा उठाएर महारानीले दरबारको शक्ति आफ्नो हातमा लिन थालिन् ।

आफ्नो महत्वाकाँक्षालाई पूर्ण गराउन मुगलान भासिएका माथवरसिंह थापालाई नेपाल बोलाएर प्रधानमन्त्री तथा कमाण्डर इन् चिफ बनाइन् । गगनसिंह विश्वासिला काजी छँदै थिए ।तर नयाँ प्रधानमन्त्रीबाट सदिच्छा पूर्ण गराउन महारानी असफल भइन् । माथवरसिंह थापाको घमण्डी स्वभावका कारण उनलाई राजा राजेन्द्रले रुचाउन छाडेका थिए ।

त्यसपछि राजा, रानी र काजी गगनसिंह मिलेर उनकै भाञ्जा जङ्गबहादुरलाई प्रयोग गरी माथवरसिंह थापाको वि.सं. १९०२ जेठ ६ गते राती गोली हानी दरबारभित्रै हत्या गरियो । हत्याकाण्ड जङ्गबहादुरले फत्ते गरे पनि काण्डको मूल योजनाकार भने काजी गगनसिंह नै थिए ।

नेपाल (उहीः१८९)अनुसार माथवरसिंह थापाको हत्यापछि मुगलानबाट झिकाएर चौतारिया खलक फत्तेजङ्ग शाहलाई नयाँ प्रधानमन्त्री नियुक्त गरियो । श्री ५ को हुकुम राखी रानीले शासन चलाउन थालिन् । मन्त्रिमण्डलमा जर्नेल काजीहरु अभिमानसिंह राना, दलभञ्जन पाँडे र गगनसिंह सम्मिलित गराइए । जङ्गबहादुरलाई मन्त्रिमण्डलमा समावेश नगरिए तापनि उनलाई तीन पल्टनको तैनाथी दिएर उनको मानभाउ राखियो ।

नवगठीत मन्त्रिमण्डलमा पदीय हिसावले फत्तेजङ्ग माथि थिए । शक्ति सम्पन्नताको हिसावले मन्त्रिमण्डलमा गगनसिंहको उपस्थिति मजबुत थियो । त्यसमाथि महारानीको कृपा उनको माथमा छँदैथियो ।

वि.सं. १९०२ वदी १० रोज ३ मा पल्टनहरुको तैनाथी निर्धारण गर्दा प्रधानमन्त्री फत्तेजङ्गको मातहतमा वज्रपाणी, शेर र सिंहनाद रह्यो । अभिमानसिंह रानाको मातहतमा नयाँ गोरख र सर्वध्वज, दलभञ्जनको मातहतमा रणप्रिय र जङ्गबहादुरको मातहतमा कालीवक्स, पुरानो गोरख र देवीदल रह्यो ।

गगनसिंहको मातहतमा भने लेटर, श्रीनाथ, राजदल, महिन्द्रदल, रामदल, कालीप्रसाद र शम्शेरदल गरी सात पल्टन तैनाथी थियो भन्ने तथ्य पुरातङ्खव विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २५ (२०३० कात्तिकः१५)मा पढ्न पाइन्छ । यसरी सर्वशक्तिमान भएर गगनसिंह दरबारमा उदाएका थिए ।

जङ्गबहादुरसँग सहकार्य
दरबारभित्रका शक्तिशाली जर्नेलका रुपमा उदाएका गगनसिंहले आफू मातहतका अर्का धुर्त, चतुर, आँटिला र दुस्साहसी जर्नेल जङ्गबहादुरसँग सहकार्य पनि गरेका थिए । जङ्गबहादुरको पनि दरबारमा क्रमशः उदय हुँदै थियो ।

नेपाल (उहीः१८३) अनुसार दरबारमा गगनसिंह रणेन्द्रको ददा हुँदा जङ्गबहादुरले आफ्ना मामाको उदयकालमा दरबारका भित्रिया हुन पाएकोले सुरेन्द्रका ददा हुने अवसर पाएका थिए । सुरेन्द्रको ददा भए पनि उनले कान्छी महारानीलाई पनि रिझाउँदै गएका थिए ।

महाराज र महारानी दुवैबाट क्रमशः मन पराउन छाडिएका तत्कालिन प्रधानमन्त्री माथवरसिंह थापा र उनको भाञ्जा जङ्गबहादुरबीचको सम्बन्धमा चिसोपन आएको थियो । यस अवस्थालाई आफ्नो स्वार्थअनुकुल उपयोगका लागि राजा र रानी अनि जङ्गबहादुरबीच गगनसिंह सूत्रधार बन्न पुगे ।

कान्छी महारानी मनमौजी थिइन् । सुसारेहरु मोजमस्तीमा थिए । उनीहरु एउटा–एउटा भारदारसँग सल्केका थिए । कतिसम्म भने प्रधानमन्त्री माथवरसिंहलाई समेत अर्काकी एक विधवा युवति राखेको वात लागेको थियो भनी नेपाल (उहीः१८५)ले उल्लेख गरेका छन् । उनकाअनुसार एकजना सुसारे केटीले महारानीबाट आफ्ना प्रेमीका लागि एउटा सरकारी जङ्गी पद आदेश गराइन् ।

ती केटीका प्रेमीको जागिरको ब्यवस्थापन गर्दा एक बहालवाला अनाहकमा खोसुवामा परे । यसको विरोध लप्टन देवीबहादुर कुँवरले गरे । उनी आफै पनि महारानीकी एक जना द्वारेसँग फसेका हुनाले ती केटीबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्धका सम्पूर्ण गुप्त कुरा उनले सुनेका थिए । उनले झोँकैझोँकमा यो गुप्त कुरा खुलेआम प्रचार गरिदिए । यहीँ आरोपमा उनलाई ज्यान सजाय सुनाइयो ।

सुसारेको प्रेमीका लागि पद दिलाउँदा स्वयम् लप्टन देवीबहादुर कुँवर अन्यायपूर्वक खोसुवामा परेका थिए भनी पद्मजङ्ग राणाले ‘जङगबहादुरको जीवनयात्रा’ (२०७४ः४७)मा उल्लेख गरेका छन् । उनले उल्लेख गरेअनुसार आफू अन्यायमा परेपछि सहन नसकेर देवीबहादुरले गगनसिंहसँग रानीको अवैध सम्बन्ध रहेको आपेक्ष प्रकट गरेका थिए ।

देवीबहादुरलाई ज्यान सजायको घोषणा भएपछि वंशबन्धुको नाताले जंगबहादुरले उनको ज्यान जोगाउन भरपुर प्रयत्न गरे । रणजीत कुँवरका तीन भाई छोरामध्ये जेठा बालनरसिंह कुँवरका छोरा जङ्गबहादुर हुन् भने कान्छा बलरामका छोरा देवीबहादुर हुन् । उनी जङ्गबहादुरभन्दा उमेरमा जेठा थिए ।

यता नातामा आफ्नै मामा भएकोले प्रधानमन्त्री माथवरसिंह थापासँग दाजु देवीबहादुरको जीवनरक्षाका लागि जङ्गबहादुरले अनेक बिन्तिभाउ गरे । तर उल्टै माथवरसिंह थापाले ‘श्री ५को हुकुम भयो भने तिमीले मलाई तिमीलाई मार्नु पर्छ भने देवीबहादुरको त के कुरा, म यसमा उनलाई बचाउन सक्दिनँ’ भनेपछि जङ्गबहादुर मामासँग क्रुद्ध भएका थिए । मामा भाञ्जाबीचको सम्बन्धमा आएको चिसोपन बारे गगनसिंह जानकार थिए भनी नेपाल (उहीः१८६)ले उल्लेख गरेका छन् ।

मामा भाञ्जाबीचको यस्तो सम्बन्ध पूर्ण रुपमा थाहा पाएका शक्तिशाली जर्नेल गगनसिंहसँग जङ्गबहादुरले सहकार्यका लागि कङ्केश्वरीमा धर्म भाके । ‘…जस्तै आफ्नु बेवस्ता तस्तै आफुनु चाकर वेवस्ता छ. तस्तै आरु नदेषी वक्सनु होला. कवर जाहासम्को नीमक्हाल छन् हजुरलाई वेस् गरी याद छ. इतिन्ज्याल् हजुर्ले कस्तै कुकर्म ग-याको भया पनि गगनसींले कंकेसोरीमा धर्म गरायेको थीयो…’ भनी धर्म भाकेको पत्र नेपाल (उहीः२२५)ले प्रकाशित गरेका छन् । सिकारुजस्ता ठूल्ठूला टेढामेढा अक्षर रहेको यो धर्मपत्र जङ्गबहादुरले नै लेखेको भनी नेपालले उल्लेख गरेका छन् ।

यहीँ धर्मपत्रअनुसार गगनसिंहसँग सहकार्य गर्न जङ्गबहादुर तयार भए । राजाबाट उनले माथवरसिंहलाई मार्ने आदेश पाउँदा उनले तत्कालै त्यो काम सम्पन्न गर्ने हिम्मत देखाए । जङ्गबहादुरका छोरा पद्मजङ्ग राणा (उहीः५३–५४)ले उल्लेख गरेअनुसार महारानी विरामी भएकोले तत्कालै दरबार आउनू भन्ने खबर पाएका माथवरसिंह हस्याङ फस्याङ गर्दै दरबार पुगे ।

राजाको हातबाट लोड गरिएको बन्दुक लिएर जङ्गबहादुर तम्तयार अवस्थामा खोपीनजिकैको बरण्डामा लुकेर बसे । रानी राजाको गोडानेर बसिन् । गगनसिंह पहरेदारको रुपमा जङ्बहादुरसँग कुहिना जोरेर बसे । रानीको खोपीमा पुग्नै लाग्दा आफ्नै भाञ्जा जङ्गबहादुरको गोली प्रहारबाट माथवरसिंह थापा ढले ।

यो घटनापछि यी दुवै सहकारी जर्नेल दरबारमा थप शक्तिशाली भएर निस्के ।

रहस्यमय हत्या
दरबारमा अनेकौं शक्तिसङ्घर्ष र खेलचुक्ली चलिरहेकै थियो । वि.सं. १९०३ भदौ ३१ गते बेलुका ढोकाटोलस्थित आफ्नै घरको पूजाकोठामा पूजा गरिरहेको बेला अज्ञात ब्यक्तिले छानातिरबाट प्रहार गरेको अचुक गोलीबाट दरबारका सर्वशक्तिमान, महारानीका प्रिय जर्नेल गगनसिंहको रहस्यमय हत्या भयो । घटना हुनासाथ उनका छोरा कप्तान उजीरसिंह (कतै वजीरसिंह) हनुमानढोका दरबार पुगी महारानीसमक्ष घटनाबारे जाहेर गरे ।

घटनाबारे जानकारी पाएपछि महारानी राज्यलक्ष्मी क्रोधाग्नीले जलिन् । ‘प्राचीन नेपाल’ सङ्ख्या २५ (२०३० कात्तिकः१६)मा उल्लेख भएअनुसार महारानी नाङ्गो तरबार लिएर निस्किन् । उनले ‘यो लाश उठाउँन हुँदैन । मुन्डको मुन्ड नजोरी मान्दिनँ । बिना कसुर बिना हुकुम मेरा वजीरलाई भारदारको खेलले मारे । अब श्री ५ महाराज बक्साई निसाव गर्छौं’ भन्दै ठूलो आक्रोश ब्यक्त गरिन् ।

राणा (उहीः६५)अनुसार महारानीले मृतकको दाहसंस्कार गर्न राज्यकोषबाट एक लाख रुपैयाँ पनि प्रदान गरिन् । विधवालाई सति जानबाट रोकिन् ।

महारानीले विगुल फुकाएर भारदारहरुलाई कचहरीका लागि खबर गराइन् । गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा कचहरी बस्ने भयो । सबैभन्दा पहिले जङ्गबहादुर आफ्ना तैनाथीका पल्टन लिएर आइपुगे । क्रमशः अभिमानसिंह राना, फत्तेजङ्गहरु पनि आइपुगे । नेपाल (उहीः२३४–२३५) अनुसार रानीले अभिमानसिंह रानालाई हत्याको दोषी भन्दै सबैभन्दा पहिले बीरकेशर पाँडेलाई काट्न हुकुम दिइन् ।

तर हत्याका लागि राजाबाट कायलनामा लालमोहर नआएकोले राना रानीको हुकुम कार्यान्वयनबाट हच्किए । त्यहाँको भयत्रासपूर्ण वातावरण देखेर काजी अभिमानसिंह राना आफू बच्न मातहतका फौजी जवानसँग मिसिन के आएका थिए, उनलाई पाले जवानले रोकिहाल्यो ।

जंगबहादुरको इशारा पाएका अर्का फौजी जवान युद्धबीर अधिकारीले अभिमानसिंहको छातीमा सङ्गीन प्रहार गरे । अभिमानसिंह ढल्दै गर्दा उनले हत्या रहस्योद्घान गर्दै ‘गगनसिंहलाई मार्ने जंगे हो’ भनी चिच्याए । त्यसपछि कोतमा जङ्गबहादुरका पक्षधरले नरसंहार मच्चाए ।

राणा (उहीः६९) ले भने अभिमानसिंहले प्राण जानुभन्दा अघि आफ्नै रगतले कष्ट साथ भित्तामा ‘गगनसिंहको हत्यारा जङ्गे नै हो’ भन्ने लेखेको उल्लेख गर्दै रगतले लेखेर दिएको उनको बयान उनकै मृत्यू समान सत्य छ भन्ने उनको आसय हुनुपर्छ भन्ने उल्लेख गरेका छन् ।

राणा (उहीः६५)ले गगनसिंहको हत्यारा लाल झा भएको र उनले लोड गरेको राइफल लिएर महिलाको भेषमा छानोमा चढी प्रहार गरेर भागेको उल्लेख गरेका छन् ।

लेखेर वा बोलेर भए पनि अभिमानसिंह रानाले गगनसिंहको हत्यारा जङ्गबहादुर नै भएको उल्लेख गरेको थाहा हुन्छ । गगनसिंहसँग तत्कालिन मन्त्रिमण्डलको एक जना मन्त्री पनि भएकोले प्राण जाने बेलामा केही शङ्का र रहस्यको आधारमा अभिमानसिंहले त्यस्तो भन्ने आँट गरेको हुनुपर्छ । तर उनको यो रहस्योद्घाटन त्यतिखेरै उदाएको जङ्गबहादुरको शक्तिसामु कसले सुनिदिने ?

घटनाको मुख्य दोषी लाल झा हो भनी किटान गरी लेख्ने पद्मजङग भने कोतपर्व भएको ११ वर्षपछि जन्मेका हुन् । इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ९३(२०५५ वैशाखः३५)मा प्रकाशमा ल्याएको ‘कुण्डली सङ्ग्रह’अनुसार पद्मजङ्गको जन्म वि.सं. १९१४ मंसिर २८ गते भएको हो । घटनालाई प्रत्यक्ष देख्न र भोग्न नपाएका उनले आफ्ना पितापुर्खाबाट जे सुने त्यहीँअनुसार गगनसिंहको हत्यारा लाल झा भनी आफ्नो पुस्तकमा उल्लेख गरे ।

गगनसिंहको रानीसँग प्रेमप्रसङ्ग
गगनसिंह र महारानी राज्यलक्ष्मीबीच राजनीतिक मात्रै नभई अनैतिक सम्बन्ध पनि थियो भन्ने इतिहास पढ्न पाइन्छ । राणा (उहीः४४–४५)ले त गगनसिंह महारानीका उपपति नै थिए भनी उल्लेख गर्न भ्याएका छन् ।

चन्द्रशम्शेरका समयमा पर्सिभिल ल्याण्डन नामका लेखक नेपाल आएका थिए । उनले ‘नेपाल’ नामको पुस्तक पनि लेखे । यसमा परेको गगनसिंह र महारानीबीचको सम्बन्धको प्रसङ्गलाई उद्धृत गर्दै प्रकाश ए. राजले ‘कोतपर्वकी महाराज राज्यलक्ष्मी’(२०६४ः२४)मा उल्लेख गरेअनुसार राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन भनेका थिए । तर ए. राजले उक्त पुस्तक चन्द्रशम्शेरले लेखाएका हुँदा त्यसलाई कति विश्वास गर्ने भनी प्रश्न पनि उठाएका छन् ।

कोतपर्वको १० वर्षपछि ब्रिटिश दुतावास, लैनचौरमा रहेका ओल्डफिल्डले ‘स्केचेज फ्रम नीपाल’(सन् २००५ः३४४)मा ‘माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनको प्रेमी गगनसिंहको हातमा आयो’ भन्ने उल्लेख गरेर महारानी र गगनसिंहबीचको प्रेमप्रसङ्गलाई चर्चित बनाउन सहयोग गरेका छन् ।

त्यतिखेर राज्यसत्ता आफ्ना छोरा सुरेन्द्रलाई बुझाएर बसेका बुढाराजा राजेन्द्रले गगनसिंह र महारानीबीचको अनैतिक सम्बन्धको तिथीमिति पत्ता लगाउन भनी तत्कालिन राजगुरु विजयराज पाण्डेलाई बनारस जाँदा यसबारे बुझेर आउन पत्र नै लेखेका छन् । त्यतिखेर गगनसिंहको हत्या भएको चार वर्ष भइसकेको थियो ।

दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ७० (२०४३ असोजः३१–३७)मा प्रकाशमा ल्याएको ‘श्री ५ राजेन्द्रकी कान्छी रानीसम्बन्धी अप्रकाशित ६ वटा पत्र’ शीर्षकमा प्रकाशित पत्रहरुमा निर्वासित महारानीमाथि परपुरुषसँगको सम्बन्धदेखि गर्भपतनसम्मका प्रसङ्ग वा आरोप पनि परेको छ ।

तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिला भाई रणेन्द्र र काँहिला भाई बीरेन्द्रका नाममा लेखेको पत्रमा कालीदास नामका वैद्यले खोलेको रहस्यअनुसार दलबहादुर थापासँगको अवैध यौनसम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाईहरुलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ ।

बुढा राजा राजेन्द्रले राजगुरु पण्डित विजयराज पाण्डेलाई एक पत्र लेखी काशी (बनारस) जाँदा जयसिंहका बहिनी (महारानी राज्यलक्ष्मी) पहिले गगनसिंह खवाससँग र पछि दलबहादुर थापासँग कुन साल, कुन महिना र कुन दिन बिग्रेकी रहिछन् त्यो लेखाई सही गर्न लगाएर कायलनामा लेखाई ल्याउन वि.सं. १९०७ मंसिर सुदी ३ रोज ६ मा पत्र पठाई आदेश दिएका छन् ।

यिनै पत्रहरुमध्ये वि.सं. १९०६ भदौ सुदी २ रोज २को बुढा राजाको पत्रमा उल्लेखित साहिला साहेव रणेन्द्रको साउन सुदी ७ रोज ५ को पत्रको भाकामा ‘मुमाबाट वजीरसिंहलाई षारेज गरि दलबहादु-यालाई कामकाज दिदा हाम्रा मालव असवाव पनि वर्वाद ग-यो’ भन्ने परेको छ ।

यसबाट महारानी राज्यलक्ष्मीले बनारस निर्वासित हुँदा गगनसिंहका छोरा वजीरसिंहलाई पनि साथै लिएर गएको र जागिर पनि दिएको देखिन्छ । तर उनलाई खारेज गरी पनि दलबहादुरलाई जागिरमा राखेको र उनका कारण आफूहरुमा समस्या आएको भन्ने आसय रणेन्द्रविक्रम शाहको देखिन्छ ।

गगनसिंह नेवार हुन् ?

इतिहासका चर्चित पात्र गगनसिंह कुन जातिका थिए भन्ने एउटा कौतुहलताको विषय रहेको छ ।

पुरुषोत्तम राणाले आफ्नो पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ (२०६५ः१६ मा) गगनसिंहको जातथर भँडारी क्षेत्री भनी उल्लेख गरेकाछन् । गगनसिंहलाई भँडारी क्षेत्री जातका हुन् भनी किटान गरिहाल्नुभन्दा पहिले धेरै कुरा विचार गर्न आवश्यक छ ।

राणाले तत्कालिन महारानीको मनासय त गगनसिंहलाई प्रधानमन्त्री नै बनाउने थियो भन्ने धारणा ब्यक्त गरेका छन् । तर मुगलानमा बसेका चौतारिया खलकका फत्तेजङ्ग शाहलाई बोलाएर प्रधानमन्त्री बनाइयो । त्यतिखेरसम्म दरबारको सम्पूर्ण राजनीतिक शक्ति महारानीको हातमा आइसकेको थियो ।

फत्तेजङ्गको मातहतमा मन्त्रीेका हैसियत पाउँदा महारानीका प्रियपात्र गगनसिंहलाई सात पल्टनको तैनाथीसहित शक्तिशाली जनरल पनि बनाइएको थियो । यदि उनी क्षेत्री जातिका भएका भए महारानीबाट गगनसिंहलाई प्रधानमन्त्री दिन कुनै गाह्रो थिएन ।

प्रकाश ए. राजले ‘कोतपर्वकी महाराज राज्यलक्ष्मी’ (२०६१ः२४)मा गगनसिंहको जन्म वि.सं. १८५३ उल्लेख गरेकाले शक्तिशाली जनरल भएको बेला उनी ४९ वर्षका थिए । यो उमेर प्रधानमन्त्री हुनका लागि कच्चा उमेर पनि होइन । गगनसिंहको गतिविधि हेर्दा अनेक चलखेल गर्न सक्ने उनी राजनीतिक विद्यामा पनि कमजोर देखिदैनन् ।

गगनसिंहको घर काठमाडौंको ढोकाटोलमा रहेको छ । यसबारे इतिहासकार प्राडा त्रिरत्न मानन्धरसँग जिज्ञासा राख्दा केही वर्षअघिसम्म उनको घरमा उनका नातेदारहरु बस्ने गरेको यो लेखकले जानकारी पाएको छ । मानन्धरको भनाईमा उनीहरु प्रधानाङ्ग थरका नेवार रहेका हुन् ।

कतिपय पुराना कागजहरुमा गगनसिंहको नामपछि ‘खवास’ वा ‘षवास्या’ लेखिएको पनि पाइन्छ । रणबहादुर शाहका समयमा एक नेवार काजी त्रिभुवन प्रधान थिए । उनको नाममा कतै प्रधान त कतै खवास राखेको पनि पाइन्छ । एकातिर गगनसिंहभन्दा अलि अघिका नेवार काजी त्रिभुवनको नामपछाडी खवास पाइनु र गगनसिंहको नामपछाडी पनि खवास रहनुले उनी नेवार जातिका थिए भन्ने अड्कल काट्न सकिन्छ ।

पृथ्वीनारायण शाहका समयमा पनि कान्तिपुर रक्षाका लुटिकोटमा युद्ध गर्न जाँदा ललितपुरका काजी धनवन्तका छोरा बीरनरसिंह गोरखालीहरुबाट अपहरणमा परी नुवाकोट पु-याइएका थिए । इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’(२०६१ः३०३–३०७) अनुसार कीर्तिपुर हात परेपछि पृथ्वीनारायण शाहले बीरनरसिंह मार्फत् धनवन्तलाई नुवाकोट बोलाएका थिए ।

धनवन्त मुस्किलले ललितपुरबाट उम्केर सपरिवार नुवाकोट पुग्दा ललितपुरका राजा र मन्त्रीहरुबाट उनको सर्वश्वहरण हुन पुग्यो । पछि धनसम्पति र खान्गीसहित ललितपुरको काजी दिदा पूर्वजातीय समाजबाट अलग गराउन पृथ्वीनारायण शाहले धनवन्तलाई ‘खासमा रहने’ अर्थात् खवास उपाधि दिएका थिए भनी आचार्यले उल्लेख गरेका छन् । यताबाट हेर्दा नेवारहरुलाई गोरखाली राजाले खवास दिने चलन भएकोले इतिहासका चर्चित पात्र गगनसिंह पनि नेवारनै थिए भन्ने अनुमान गर्न सकिन्छ ।

राणा (उही२०६५ः२०)ले गगनसिंहलाई भँडारी क्षेत्रीका रुपमा पुष्टि गर्न गगनसिंहका नाती लेफ्टिनेन्ट कर्णेल उत्तरध्वज भँडारी क्षेत्री शम्शेरहरुको पालामा जिवितै थिए भनी लेखेका छन् । तर बुढा राजा राजेन्द्र, महाराजा सुरेन्द्र लगायतलाई महारानी राजेन्द्रलक्ष्मीका प्रियपात्र गगनसिंहको मरणोपरान्त पनि विपक्ष रहँदै उनलाई महारानीसँगको ब्यभिचारको आरोप लगाइरहेको देखिएको हुँदा गगनसिंहको सन्तानलाई दरबार वा सेनाको जागिरमा उनीहरुले उच्च स्थान दिए होलान् भनी पत्ताउन गाह्रो हुन्छ ।

त्यसमाथि पनि राजा सुरेन्द्र र जङ्गबहादुर एकापसमा सम्धी–सम्धी हुन् । उनै सुरेन्द्रको ठाउँमा आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने महङ्खवाकाँक्षा बोक्ने महारानी राज्यलक्ष्मी बनारस निर्वासित हुँदा उनीसँगै गगनसिंहका छोरा वजीरसिंह पनि गएको देखिएको माथि उल्लेख भइसकेको छ । राणाले उल्लेख गरेको लेफ्टीनेन्ट कर्णेल उत्तरध्वज भँडारी क्षेत्र गगनसिंहको नाती नभई अर्को कुनै ब्यक्ति हुनसक्छ ।

राणाले उल्लेख गरेअनुसार गगनसिंहको जात थर भँडारी नै भए पनि उनी क्षेत्री नभई नेवार भँडारी अर्थात् राजभण्डारी हुनसक्ने सभ्मावना भने रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);