काठमाडौं। नेकपा एमाले नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइ गर्न सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम तोकेको छ । आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजे सम्मका लागि अल्टिमेटम तोकेको हो ।
खनाल नेपाल समूहले उठाएका विषयमा सोमबार विहान ९ बजेसम्म कुनै प्रतिक्रिया नदिए थप निर्णय लिन सकिने नेपाल खनाल पक्षको अडान रहेको छ । खनाल नेपाल पक्षका अनुसार बैठकले दुई विषय तय गरेको छ।
पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विभाजन गरिदिएपछि सोही आदेश अनुसार पार्टीको जीवन एकता पूर्वको अवस्थामा पुगेको माधव नेपाल पक्षको दाबी छ। तर, ओलीले फागुन २८ गते आफू अनुकूल निर्णयहरु गरेकाले नेपाल पक्षको मागलाई अस्वीकार गरेका छन्।
आइतबार नेपाल पक्षका सांसद्हरुले सामूहिक राजीनामा दिने चर्चा थियो। तर, उनीहरुले त्यसलाई सोमबार बिहान ९ बजेसम्मका लागि थाति राखेको बताइएको छ । सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक समे आह्वान गरिसकेका छन् ।