राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेद्वारी दर्ता, आफ्नो विजय सुनिश्चित भएको गृहमन्त्री थापाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेद्वारी दर्ता, आफ्नो विजय सुनिश्चित भएको गृहमन्त्री थापाको दाबी

काठमाडौं । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा रहेको ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन अधिकृतको कार्यालय’ मा पुगी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । गृहमन्त्री थापाको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थकमा रहेका छन् । उम्मेद्वारी दिएपछि संचारकर्मीसंग कुरा गर्दै गृहमन्त्री थापाले आफ्नो विजय सुनिश्चित भएको दाबी गरेका छन् । उनले ९ हजार ५ सय ६४ कुल मतदाता मध्ये नेकपा एमालेको ५ हजार १ सय ३० मत रहेकाले आफ्नो जित सुनिश्चित रहेको तर्क गरे ।

गृहमन्त्री थापा निर्वाचन आचारसंहिता विपरीत हेलिकप्टरबाट उम्मेद्वारी दर्ता गराउन हेटौडा पुगेका थिए ।

स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेकपा एमालेका नेता एवं बागमती प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष खिमलाल देवकोटाले आफू स्वतन्त्र उम्मेद्वार भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको दाबी गरे । उनले सबैको समर्थन आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित भएको र आफ्नो उम्मेद्वारी संविधानको रक्षाका लागि भएको प्रतिक्रिया दिए ।

आफूले स्थानीय र प्रदेश तहका समस्यालाई राष्ट्रिय सभामा पु¥याएर समाधानको पहल गर्ने डा.देवकोटाले प्रतिवद्धता पनि जनाए ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेका छन् ।

त्यसैगरी, राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेद्वारी दिएको छ । नेमकिपाका उम्मेद्वार कृष्णबहादुर तामाङको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् । उनले पार्टीको नीति अनुसार आफूले उम्मेद्वारी दर्ता गराएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियसभामा निर्वाचित गृहमन्त्री राम बहादुर थापाले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा बागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित ३ सय ४८ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);