उपनिर्वाचनका लागि उम्मेद्वार छनौटमा छलफल बाँकी
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिने विश्वासको मतका लागि अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको विश्वासको मतका लागि अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय बैठकले गरेको जानकारी दिएका हुन् ।
बुधबार मात्रै प्रधानमन्त्री ओली सहितको उनी निकट शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गर्न बुढानिलकण्ठ पुगेका थिए । एमालेले विश्वासको मत दिन भने पनि सभापति देउवाले मत दिन नसक्ने जवाफ दिएका थिए ।
त्यसैगरी बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका बिषयमा छलफल भएको पनि परराष्ट मन्त्री एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बैठकमा उम्मेद्वार छनौटका बिषयमा छलफल भएपनि टुंगो भने नलागेको उनले जनाए ।
पार्टीको उम्मेद्वारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।
यसअघि बुधबार एमालेको नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरी खिमलाल देवाकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउन निर्णय गरेको थियो ।
बैठक लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास लागेका थिए ।




