दाङ । तुलसीपुरका युवा व्यवसायी यज्ञ बहादुर केसीले बुधबार आफ्नो जन्मदिनमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन सिलिण्डर र केही नगद सहयोग गरेका छन् । जिल्लामा भएको कोभिड संक्रमित, जेष्ठ नागरिक र ईमर्जेन्सी बिरामीहरुका लागि अत्ति आवश्यक पर्ने अक्सिजन सहयोग गरेका हुन् ।
कोरोना अस्पताल बेलझुण्डिमा अक्सिजनको चरम अभाब भएकोले केसीले ५० केजीको २२ थान सिलिण्डर सहयोग गरेका हुन् । उक्त सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई दिएका हुन् ।
केसीले भने,’ अक्सिजन अभावका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजाओस थप सहयोग के – के गर्न पर्छ म तयार छु ।’
अक्सिजन बुझ्दै मेयर पाण्डेले अहिलेको महामारीमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा भएकाले सबैले एकै ठाउमा उभिन जरुरी रहेको बताए ।
त्यस्तै केसीले शनिबार तुलसीपुरमा भारतीय गाडीमा मृत्यु भेटिएका ३ जना बालकको परिवारलाई नगद ५ हजार सहयोग गरेका छन् ।
यता तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको अक्सिजन बैंकमा तुलसीपुरका समाजसेवी नेत्रमणी लामिछानेले २५ हजार, व्यवसायी हमिद खानले १५ हजार र नेपाली कांग्रेसका नेता बलीराम खत्रीले १० हजार नगद सहयोग गरेका छन् ।