२५ जिल्लामा निषेधाज्ञा जारी, थप कडाइ गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२५ जिल्लामा निषेधाज्ञा जारी, थप कडाइ गर्ने तयारी

काठमाडौं । कोभिड–१९ संक्रमण डरलाग्दो गरी फैलिएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।

सरकारले संक्रमणको अवस्था हेरेर निषेधाज्ञाको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको हो ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले लकडाउन जारी भएका जिल्लामा अझ कडाइ गर्ने निर्णय गरिसकेको छ ।

शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये चार जिल्लामा आंशिक र बाँकी १९ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बाग्लुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।

मन्त्रालयकाअनुसार जाजरकोटमा वैशाख १८ गते रातिदेखि निषेधाज्ञा लागू हुनेछ ।सल्यान र डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ ।

झापा र रुकुम पश्चिममा पनि १९ गतेदेखि निषेधाज्ञा लागू हुँदैछ । गुल्मी र मोरङमा निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छैन । गुल्मीमा आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ ।

निषेधाज्ञा जारी भएका जिल्ला तथा ठाउँमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिमलगायत सञ्चालन गर्न पाइने छैन । तर कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लालाई कोभिडबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । ती जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);