काठमाडौँ ।
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज बैदिक सनातन नारीहरुले श्रीमहादेवको पूजा तथा उपासना गरेर धुमधामकासाथ मनाउदै छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको धार्मिक मान्यताका आधारमा बैदिक सनातन धर्ममा हरितालिका तिजको परम्परा रहीआएको हो । यस दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता नरहेको धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्रीहरु बताउछन् । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताइन्छ । निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न सकिन्छ । बैदिक सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व तीजको अवसरमा नेपालका गाउँ सहर जताततै रौनक छाएको छ । यो पर्वमा अविवाहिता नारीहरुले आफुले चिताएको पति प्राप्ति तथा विवाहिता महिलाहरूले आफ्नो तथा घर परिवारको सुस्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने चलन छ । देशका शिवालयहरुमा महिला दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विषेश गरि पशुपति मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।




