पर्सामा बिना मास्क घर बाहिर निस्के एक सय रुपैयाँ जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्सामा बिना मास्क घर बाहिर निस्के एक सय रुपैयाँ जरिवाना

नितेश कर्ण

वीरगञ्ज । पर्सामा स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कारबाही गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सोमबारदेखि बिना मास्क घर बाहिर निस्केका व्यक्तिलाई एक सय रुपैयाँ जरीवाना तिराएर कारबाही थालेको हो ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउनेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउने र सम्झाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चोक, माइस्थान, भानुचोक, रानीघाटलगायतको ठाउँमा मास्क बिना हिँडेकाहरुलाई कारबाही गरेको छ ।

घण्टाघरमा बिना मास्क सोमवार बिहान भेटिएका १७ जनालाई प्रहरीले जनही एक सयका दरले जरिवाना तिराएको छ । त्यसै गरी माइस्थानमा प्रहरीले १५ जनालाई कारबाही गरेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);