शम्भु माली
कपिलवस्तु । कपिलवस्तु प्रहरीले तान्त्रिक प्रयोजनका लागि महिलाको हत्या गरी शरिरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
तान्त्रिक प्रयोजनका लागि मानिसको औंलाहरु ल्याएमा प्रतिऔंला ८० लाख सम्ममा बिक्री हुने भन्ने भ्रमपुर्ण हल्लाको विश्वास गरी संगठीत गिरोहले महिलाको हत्या गरेको खुलेको हो । सो गिरोहले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहपुरस्थित आफ्नो माइती बस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औंलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए । लास तैरिन नसक्ने गरी बोरामा ढुंगा हालेर फालिएको प्रहरीले जनाएको छ ।
गएको चैत २० गते शव नदीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले निकाल्दा शव सडिसकेको थियो भने हातका सबै औँलाहरु काटिएका थिए ।
शुक्रबार तौलिहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले पक्राउ परेका गिरोहलाई सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुलकलाम मुसलमान, ४५ वर्षीय बेलालअहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्र्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्ण बहादुर सुनार र नवलपरासी मध्यविन्दु नगरपालिका–७ का ६७ वर्षीय खेम बहादुर मल्ल रहेको एसपी अधिकारीले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई संगठीत अपराध तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जानकारी दिएको छ ।