भरतपुरलाई सडन डेथमा स्तब्ध पार्दै बागमती अन्तिम आठमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भरतपुरलाई सडन डेथमा स्तब्ध पार्दै बागमती अन्तिम आठमा प्रवेश

बारा । सेन्टर कलेज भरतपुर फूटवल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बागमती युवा क्लब सर्लाही बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहीबार बेलुकी भएको रोमाञ्चक भिडन्तमा भरतपुरविरुद्ध संघर्षपूर्ण जित हात पार्दै बागमतीले अघिल्लो यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुबै टिमले बराबरी खेले पछि नजिता सडन डेथबाट निस्किएको हो ।

सडन डेथमा बागमतीका गोल रक्षक अरुण ब्लोनले गोल गर्दा भरतपुर एफसीका प्रज्वल थापाको प्रहार क्रस बार माथिबाट बाहिरियो । यस अघि टाईब्रेकरमा दुबै टिमले २–२ गोल गरे ।

टाईब्रेकरमा राज भुषाल र एकराज बुढाथोकीले गोल गर्दा उमेश राई , बिक्की चाम्लिङ र बिपिन गुरुङले अवसर खेर फाले । बाग्मतीका लागि स्टेफन समिर र प्रितम स्याङबोले गोल गरे ।

बागमतीका निरज थापा, अभि लामा सेभ र मिग्मा घिसिङको प्रहारले जाली चुम्न नसक्दा टाइब्रेकर बराबरीमा सकिएको थियो ।

भरतपुरका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेका बागमतीका गोल रक्षक अरुण ब्लोन खेलको म्यान अफ दि म्याच घोषित भए ।

यस अघि निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्प्रधात्मक बन्न पुग्यो । खेल अवधि भरमा पाएका राम्रा अवसर दुबै टिमले खेर फालेका थिए ।

पहिलो हाफमा भरतपुरले बागमतीलाई दवावमा राखे पनि दोस्रो हाफमा बागमतीले उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको बागमतीको फिनिसिङ लाईन भने कमजोर देखियो ।

उत्कृष्ट खेल प्रदर्शन गरे पनि कठिन जित हात पारेको बागमतीले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । बागमतीले अब बिभागिय टिम एपिएफ क्लबसँग खेल्ने छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार बिजय युथ क्लब हेटौंडा र सुदूरपश्चिम धनगढीबीच खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);