दोलखामा भेटियो विद्युतीय पैसा बनाउने कारखानामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

काठमाडौँ, २७ असोज । संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ। तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ।

बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्ता लगाएको छ।

शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनले स्थानीय भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए। बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको छ।

शाहसँगै अन्य सातजनालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ। काठमाडौंको भाटभटेनी घर भएका शाहले अमेरिकाबाट इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ गरेका छन्। उनी गत वर्ष मात्र नेपाल फर्किएका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।