काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यसतो बताएका हुन् ।
प्रवक्ता शर्माले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारेमा सबै नेताहरुको एकमत रहेको बताएका छन् ।
उनले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने दाबी गरे ।
प्रवक्ता शर्माले कार्यक्रममा बोल्दै कांग्रेसको छवि बदलेर संगठनात्मक स्वरुप बदल्नुपर्ने बताउँदै सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।
सोही कार्यक्रममा बोल्दै कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने धारणा राखे ।