एजेन्सी, २६ चैत । अमेरिकाको बाईडेन प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने अन्तिम समय सिमा बढाउने संकेत दिएको छ । यसबारेमा राष्ट्रपति जो बाईडेनको अन्तिम निर्णय आइनसकेकोको कारण अमेरिकी सेना फिर्ता हुने अन्तिम समय सिमा बढ्ने संकेत देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यसअघि पुर्व निर्धारित कार्यक्रम अनुसार आगामी मे महिना भित्रै अमेरिकी सेनाले अफगानिस्तान छाडिसक्नु पर्ने हो । अहिले अफगानीस्तानमा अमेरिकाका दुई हजार पाँच सय सैनिक छन् । अफगान सरकार तालिबान आक्रमणको खतराबाट पुरै मुक्त नभईसकेको भन्दै अमेरिकी प्रशासनले अफगानी सेनालाई सहयोग गर्ने भन्दै त्यहीं टिक्ने रणनीति लिएको विश्लेषण हुन थालेको छ ।
अमेरिकी राष्ट्रपति जो बाईडेनले आगामी तीन हप्ताभित्रै अफगानिस्तानमा रहेका सैनिक र सैन्य उपकरण अहिले नै हटाउन मुश्किल छ भन्दै, मे १ तारिखका लागि तोकीएको समय–सीमा अपर्याप्त रहेको स्पष्ट गरिसक्नु भएको छ । बाईडेन अमेरिकी सेनाले अफगानिस्तान छाड्नै परेपनि सुरक्षित र व्यवस्थित तरीकाले छाड्नु पर्ने पक्षमा हुनुहुन्छ ।
सन् २००९ देखि २०१३ सम्म नाटो सैनिक कमाण्डर रहिसकेका पूर्व नौसेना एडमिरल जेम्स स्टेविडिसले पनि राष्ट्रपति बाईडेनको समर्थन गर्दै अहिलेको स्थितीमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजानु बुध्दिमत्तापुर्ण कदम नहुने तर्क गरेको छ ।