सर्लाही, २१ चैत्र। सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ का एक किसानको गोठमा आगलागी हुँदा झण्डै तीन लाख बराबरको क्षति भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–९ स्थित गोठमा शनिवार बिहानपख आगलागी हुँदा १४ वटा खसी बाख्रा र एउटा पाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनले दिएको जानकारी अनुसार स्थानीय रमेश उप्रेतीको गोठमा आगलागी भएको हो ।
शनिवार बिहान पौने ३ बजेतिर सुरु भएको आगलागी स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव आधा घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीबाट १ वटा भैंसी पाडी, १४ वटा खसी बाख्रा जलेर मरेको हो । आगलागीले २ लाख ८० हजार बराबरको क्षति भएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको हो ।