तीन संयोगः मेलम्ची, किसुनजी र विद्या भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

तीन संयोगः मेलम्ची, किसुनजी र विद्या भण्डारी

काठमाडौं, २० चैत । ०४८ सालको निर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले काठमाडौंका जनता माझ वाचा गरे ‘तपाईहरुलाई मेलम्चीबाट पानी ल्याएर ख्वाउछु’। तर संयोग भने यस्तो पर्‍यो उनी तत्कालीन एमालेका महासचिव मदन भण्डारीसंग चुनाव हारे । त्यो पराजय भएको क्षेत्र थियो काठमाडौंको क्षेत्र नं. १ ।

मदन भण्डारीको दासढुंगा दुर्घटनमा परि निधन भएपछि २०५१ सालमा सो क्षेत्रमा उपचुनाव भयो । त्यसबेला पनि भट्टराई नेपाली कांग्रेसको उम्मेद्वार बने । अघिल्लो चुनावमा उनले दिएको मेलम्ची वचनलाई मज्जाले चुनावी नारा बनाईयो । नारा मध्ये एक थियो ‘ मुख धुने पानी छैन, सडक धुनु फुर्ती।’ यो चुनाव पनि उनले जित्न सकेनन् ।

संयोग यस्तो भयो कि मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीबाट उनी पराजित भए । भट्टराई र विद्याबीच चुनावमा एक आपसमा कटाक्ष समेत चल्यो । त्यो बेला मदन भण्डारीको निधन भएको एक वर्ष पनि भएको थिएन ।

भट्टराईले भनेका थिए– सेतो सारी लगाउँदैमा चुनाव जितिदैँन । चावहिलमा आयोजित सभामा बोल्दै विद्याले त्यसको जवाफ फर्काएकी थिईन ‘यो सेतो सारी तिम्रो राजनीतिमा कात्रो सावित हुने छ’। सोही भाषणले विद्याको पक्षमा चुनावी लहर ल्याएको थियो ।

भट्टराईको निधन भएको निकै वर्ष वितिसकेको छ । तर शुक्रबार भृकृटीमण्डपमा कृष्णप्रसाद भट्टराईले देखेको मेलम्ची सपना उनै विद्या अर्थात राष्ट्रपतिको हैसियतमा उद्घाटन गरिन् । आफूले चुनावमा पराजित गरेका नेताले गरेको परिकल्पना शुक्रबार राष्ट्रपतिले सम्पन्न गरिन् ।

भट्टराईले परिकल्पना गरेको मेलम्ची सपना शुक्रबार भृकुटीमण्डपमा खोलिएको थियो । त्यसैले मेलम्ची, किसुनजी र राष्ट्रपति भण्डारीबीच यी तीन संयोग मिलेको छ ।

Leave a Reply