काठमाडाैं, २० चैत । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
पुलिसले भरतपुरमाथि २५–४, २५–८ र २५–१२ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले महत्वपूर्ण ३ अंक जोडेको छ । शुक्रबार महिलातर्फ नै सशस्त्र प्रहरीको एपीएफ क्लबले जित निकालेको थियो । एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
ढोरपाटनविरुद्ध एपीएफले २५–३, २५–९ र २५–५ को सेटमा जित निकाल्यो । ढोरपाटनविरुद्ध एकतर्फी जित निकालेसँगै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ । ढोरपाटनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ढोरपाटन न्यु डाइमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।