काठमाडौं, १९ चैत । सर्वोच्च अदालतले बहुदलीय व्यवस्था नमानेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आरोप लगाएका छन् । तत्कालीन नेकपा ब्युँताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सर्वाेच्चले बिहीबार अस्वीकार गरेपछि गुरुङले सो आरोप लगाएका हुन् ।
सर्वोच्चको आदेश राजनीतिक भएको बताउँदै गुरुङले भने– ‘दलहरुले मेहनत गरेर पार्टी बनाउने, एकता गर्ने, अनि अदालतले भटाभट विघटन गरिदिने भएपछि त मल्टीपार्टी डेमोक्रेसीमाथि हस्तक्षेप भयो, दलीय स्वतन्त्रता नै बाँकी रहेन ।’ एकता गर्ने र पार्टी विघटन गर्ने अधिकार संविधानले दिएको भएपनि अदालतले त्यो अधिकार खोसेको गुरुङको दाबी छ ।
‘पूर्वाग्रहभन्दा पनि हामीले हेर्ने सिस्टमको कुरा हो, सो हिसाबले हेर्दा सर्वोच्चको आदेशले मल्टीपार्टी डेमोक्रेसी ध्वस्त बनाइदियो’ – गुरुङले भने । सर्वोच्चले जस्तो आदेश दिएपनि आफूहरु आफ्नै हिसाबले अगाडि बढ्ने गुरुङको भनाई छ ।
संविधान नै सिध्याउने गरी अदालतको आदेश आएको बताउँदै गुरुङले भने– ‘केही व्यक्तिका कारण अदालतले प्रक्रियाभन्दा बाहिर गएर आदेश दिएको छ, यो आदेश संविधान नै सिध्याउनेगरी आएको छ ।’