खोटाङ, १२ चैत। आगलागीबाट खोटाङमा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार अपरान्ह गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागरढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो ।
स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीय प्रशासनल बताएको छ । आठ वर्षअघि जंगलमा लागेको डढेलो गाउँपस्दा घर गुमाएका ढकाल परिवारले पुनः निर्माण गरेका घर पुनः यस वर्ष सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको स्थानीय सागर खनालले बताए ।
सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भइ गाउँ पस्दा सहकारी संस्थाबाट रु एक लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको छ ।
डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रप्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा खटाइएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्राकृतिक प्रकोप समितिका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए ।
साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले अहिले पनि डढेलो नियन्त्रणमा लिएका थिए । डढेलो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीय किसन भुजेलले जानकारी दिए ।
हलेसी तुवाचुब नगरपालिका–११ राजापानीतिरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको जनाइएको छ । डढेलोबाट घर जोगाउन कतिपय स्थानीय बासिन्दाले आ–आफ्नो घरको छानामापानी छ्यापेर बसिरहेका छन् ।
आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइतेसमेत भएको वडाध्यक्ष वीरेन्द्र ढकालले जानकारी दिए । विश्वकर्माको देब्रे हात भाँचिएको र एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्यसंस्था पठाइएको वडाध्यक्ष ढकालले बताए ।
डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिकवन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलेको छ ।
सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन । सुख्खाग्रस्त क्षेत्रमा पर्ने विजयखर्क र राजापानीका सामुदायिक वनमा वर्षेनी आगलागीहुँदै आएको छ ।