राजकुमार दिक्पाल
उपत्यकाको तीन राज्य जित्नका लागि सबैभन्दा पहिले कीर्तिपुर हात लिन जरुरी ठानेका गोरखाली राजा पृथ्वीनारायण शाहले आफ्नो सैन्य शक्ति दहचोक गढीमा तैनाथ गरेका थिए । उनी कीर्तिपुर हात लिन हतारिइरहेका थिए ।
तर गोरखालीका लागि कीर्तिपुर हात लिन अनुकूल समय भइसकेको थिएन । अर्को तथ्य कीर्तिपुरमा विजय हासिल गर्नु पनि सजिलो थिएन । त्यो समय उपत्यकाका तीनै राज्य एक भइरहेका थिए भने जयप्रकाश मल्लले नगरकोटी सेनाहरु झिकाएर उनीहरुबाट कान्तिपुरका युवाहरुलाई प्रशिक्षित गराई सैन्य शक्ति सुदृढ बनाइरहेका थिए ।
एकातिर पृथ्वीनारायण शाहका कान्छा भाई सुरप्रताप शाह आफ्ना दाजुलाई कीर्तिपुर तत्काल आक्रमण गर्न उक्साइरहेका थिए । तर पहिल्यैदेखि दहचोकगढी कुरिरहेका हरिवंश उपाध्यय मात्र होइन, युद्धको समय साइत हेरिदिने गोरखाली ज्योतिष कुलानन्द ढकालका साथै पृथ्वीनारायण शाहका विश्वासपात्र काजी कालु पाँडे भने तत्काल युद्ध छेडिहाल्दा परिणाम अनुकुल हुनेमा सशंकीत थिए । उनीहरु सकेसम्म पृथ्वीनारायणलाई सम्झाएर केही समय पर्खने पक्षमा थिए । तर पृथ्वीनारायण शाहको हठको अगाडी उनीहरुको केही लागेन ।
परिणामस्वरुप उनको विश्वासयोग्य काजी कालुको ज्यान मात्र गएन, उनकै ज्यान जोखिममा पर्यो । वि.सं. १८१४ जेठ १९ गतेको कीर्तिपुरको युद्धमा गोरखालीहरुले नराम्ररी क्षति ब्यहोर्नुपर्यो । पृथ्वीनारायण शाह हार ब्यहोरेर चुकचुकाउँदै दहचोक फर्कनु पर्यो । उनलाई युद्धस्थलमा पुतुवारहरुले बचाएका थिए । युद्धमा उनको समेत ज्यान जोखिममा परेको थियो ।
कीर्तिपुरको त्यो पहिलो युद्ध
कुलानन्द ढकालले युद्धका लागि साइत निकाल्न नमानेपछि उनलाई पृथ्वीनारायण शाहले नराम्ररी हप्काए । उनले ‘गोरखामा तँ मात्रै ज्योतिषी छस्’ भन्ने भावमा हप्काएर बालकृष्ण जैसीलाई युद्धको साइत निकाल्न लगाए । अझै पनि कालु पाँडे तत्काल कीर्तिपुरमा आक्रमण गर्न नहुने पक्षमा थिए । उनलाई पनि पृथ्वीनारायण शाहले ‘तलाई मर्न गार्हो भयो कि’ भनी हप्काए । त्यसपछि कालु पाँडेले ‘मैले मरी हजुरको सब्य हुन्छ भने म मर्छु’ भनी युद्धका लागि तयार भए । (‘प्राचीन नेपाल’, संख्या २२–२०२९ माघः११–१२)
बालकृष्ण जैसीले निकालिदिएको साइतअनुसार वि.सं. १८१४ जेठ १९ गते उज्यालो नहुँदै खानपिन सकेर कालु पाँडे १२ सय जति सैनिक आफ्नो साथमा लिई दहचोक गढीबाट तल झरे । सैनिक दलका पछि आफ्ना अँगरक्षकसहित स्वयम् पृथ्वीनारायण शाह पनि दहचोकबाट तल झरे । कीर्तिपुरदेखि उत्तरपश्चिमको झम्सिखेल चौरमा गोरखाली सैनिक दल जम्मा हुँदा जयप्रकाश मल्लको नेतृङ्खवमा कान्तिपुरको सैनिक दल पनि आइपुग्यो । गोरखाली र कान्तिपुरको सैनिकहरु युद्धरत रहेको अवस्थामा मध्यान्हमा ललितपुर र अपराहृन भक्तपुरका सैनिकहरु युद्धमा सामेल हुन आइपुगे । गोरखाली सैनिकहरुले नै दपेटा दिइरहेको अवस्थामा अचानक शत्रुपक्षबाट छुटेको काँड कालु पाँडेको शिरमा प्रहार भयो । उनी ढले । सेनापति नै ढलेपछि गोरखाली सैनिक तितरबितर हुन थाले । (गंगा कर्माचार्य (हाडा) ‘सिनास जर्नल’ वर्ष ३१ अंक १–सन् २००४ जुलाईः ३५०)
आखिर कालु पाँडेले भनेजस्तै भयो, युद्धको परिणाम पनि । अलि परबाट युद्धको दृश्य हेरिरहेका पृथ्वीनारायण शाहले आफ्ना सैनिकलाई फर्कन आदेश दिए । युद्ध मैदानमा कालु पाँडेको मृत्यू भएपछि कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहलाई लखेट्न थाल्यो । त्यो लखेटाईमा पर्दा एक जना कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहको गर्धनमा ताकेर खुँडा प्रहार गर्नै लागेका थिए । तर कसैले ‘सेनाले राजालाई मार्नु हुन्न, राजालाई राजाले मार्नुपर्छ । होइन भने धर्मविपरित हुन्छ’ भनेकाले उनी दहचोकसम्म पुगेर बच्न सफल भए । (कर्माचार्य, उहीः ३५२)
त्यो युद्धमैदानमा पृथ्वीनारायण शाहलाई ज्यान जोगाउन मुस्किल परिरहेको बेला उनलाई पुट्वार (पुतुवार) जातिको मानिसले बचाए । त्यसपछि जयकृष्ण थापाको पिठ्यूमा चढेर उनी दहचोक पुगे । त्यहाँ उनले ‘काल्याले त भन्याथ्यो, मेरो हठले लडाई विग¥यो’ भन्दै पछुतो गरिरहेका थिए । त्यसपछि यहाँ बसी भलो हुँदैन भनेर दहचोकको रक्षार्थ केही सैनिकहरु राखी बाँकी फौज लिएर नुवाकोटतिर लागे । (कर्माचार्य, उहीः३५०)
त्यो युद्धस्थलमा पृथ्वीनारायण शाहलाई बचाउन पुतुवारहरुले धेरै मेहनत गरे । त्यतिले पनि नपुगेर जयकृष्ण थापाको पिठ्यू चढेर पृथ्वीनारायण शाह युद्ध मैदानबाट भाग्न विवस हुनु परेको थियो । (‘प्राचीन नेपाल’, उहीः १२)
यी सबै हुनुमा स्वयम् पृथ्वीनारायण शाहको हठले काम गरेको थियो ।
पुतुवारहरुको प्रयोग
कीर्तिपुरेहरुले मार्न भनि लखेटिइरहेको अवस्थामा पृथ्वीनारायण शाहको ज्यान बचाउने पुतुवारहरुको प्रयोग राज्यले विभिन्न रुपमा गरेको पाइन्छ । राजदरबारभित्र शक्ति संघर्ष हुँदा रणबहादुर शाह नेपाल छाडेर काशी भाग्न विवस भए । आफ्ना नावालक छोरा गीर्वाणयुद्ध विक्रमलाई राजगद्दि सुम्पेर आफू सन्यासी भइसकेको अवस्थामा पनि पुनः राजकाजमा हस्तक्षेप गर्न थालेपछि उनीसँग दामोदर पाँडे लगायतका भारदारहरु असन्तुष्ट थिए । उनै दामोदर पाँडेलगायतका भारदारहरुले आफूलाई पक्रेर थुन्लान् भन्ने डरले उनी वि.सं. १८५७ जेठ ८ गते एकाविहानै पाटनबाट काशीतर्फ भागे । यसरी भाग्दा उनीसँग दुई जना जमदार, तीन जना खवास र आठ जना पुतुवार थिए । (नेपाल, ज्ञानमणि, ‘नेपालको महाभारत’–२०५२ः४७)
पुतुवारको खास काम भनेको पालकी बोक्ने थियो । रणबहादुर शाहले पनि आठ जना पालकी बोक्ने प्रयोजनमै काशीतर्फ लगेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।रणबहादुर शाह काशीबासको समयमा लाखौँ ऋणमा चुर्लुम्म डुबेका थिए । तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले रणबहादुरको ऋण तिर्न दरबारका चौतारिया, काजी तथा साना ठूला सबै पदका कर्मचारीहरुलाई सलामी रकम बुझाउन आदेश जारी गरेका थिए । वि.सं. १८६१ जेठ वदी १३ मा जारी यस आदेशमा चार जना पुतुवारलाई १० रुपैयाँ बुझाउन आदेश दिइएको छ । उनीहरुमा पुतुवार नाइक्या वस्ति, पुतुवार नाइक्या महेश्वर र अरु नाम नखुलेका दुई जना पुतुवार रहेको छन् । (नेपाली, चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः१२६–१२७)
चन्द्रबीर पुतुवार, जसको हात काटियो
आफ्ना छोरा रणेन्द्रलाई युवराज घोषणा गर्न दवाव दिइरहेको अवस्थामा जंगबहादुर राणाले राजेन्द्रविक्रम शाहकी महाङ्खवाकाँक्षी कान्छी महारानी राज्यलक्ष्मीलाई वि.सं. १९०३ मंसिर १० गते काशी प्रस्थान गराए । (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क २७–२०२९ वैशाखः१७७)
राज्यलक्ष्मीसँगै राजा राजेन्द्र पनि काशीतिर हिडे ।
काशीबाट बेलाबेलामा जंगबहादुरको हत्या गर्ने योजनाहरु बनाइएका थिए । यो योजना सफल बनाउन एकपटक गगनसिंहको हत्यारा भनी चिनिएका वा चिनाइएका लाल झा र दातृ पाध्यालाई पठाइएको थियो । यसको मुख्य योजनाकार चौतारिया गुरुप्रसाद शाह र जगतबम पाँडे थिए । तर योजना विफल बनाइयो । लाल झालाई कुम्भेदान बनाउने भनी फकाएर सबै बकाइयो । उनले पोलेका जति पक्राउ परे । लाल झा भने जेल परेको ३-४ दिनपछि मरे ।
यी सबैको बयान मुचुल्का बनाएर निर्वासनमा रहेका राजा राजेन्द्रलाई पठाइयो । उता गुरुप्रसाद शाह र जगतबम पाँडेले पनि आफूहरुलाई मार्न काशी पठाइएको भनी दुई जना मानिस खडा गरे ।
यस्तै जंगबहादुरले आफूविरुद्ध षडयन्त्र गर्नेहरुको दमन गर्दै जाने क्रममा सेवकराम थापालाई ठिमीमा लुकेर बसेको अवस्थामा पक्राउ गरे । उनले जंगबहादुरको हत्या गर्न आउने सबैको नाम पोलिदिए । तिनहरुमा चन्द्रवीर पुतुवार, बदलसिंह गुरुङ र गम्भीरसिंह गुरुङ प्रमुख थिए । तीमध्ये चन्द्रवीरको हात काटेर थुनामा राखियो । दुई जना गुरुङलाई भालाले घोचेर मारियो । (नेपाल, ज्ञानमणि, ‘नेपालको महाभारत’–२०५२ः२७६–२७७)
यसरी हात काटिएर थुनामा पर्न बाध्य चन्द्रबीर पुतुवार राजपरिवारका सदस्यलाई पालकीमा बोकेर काशी पुगेका थिए । उनलाई जंगबहादुरको हत्या षडयन्त्रमा प्रयोग गरियो, फलतः जंगबहादुरको दमनको शिकार बन्न पर्यो ।
पुतुवारहरुको मूल बसोबास काठमाडौंको इचंगुनारायणमा रहेको छ । यो ठाउँ हल्चोकबाट मास्तिर पर्छ । नेवारका १५० भन्दा बढि थरहरु छन् । तीमध्ये पुतुवार पनि एक हो । उनीहरुलाई नेवारी भाषामा ‘डुइँया’ भनिन्छ । उनीहरुलाई राजवाहक पनि भनिन्छ । सम्भवतः पृथ्वीनारायण शाहलाई कीर्तिपुरको युद्धमा पालकीमा बोकेर बचाएपछि उनीहरुलाई ‘राजवाहक’ भन्ने थालियो ।
नेवारभित्रै पनि उनीहरु सिमान्तकृत जातिका रुपमा रहेका छन् । राजधानीको बासिन्दा भए पनि उनीहरुमा गरीबी र अशिक्षा ब्याप्त छ ।