काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा जाने या नजाने भन्नेमा नेपाल पक्षका सांसदहरु अलमलमा परेका छन। सो पक्षका सांसदहरुको बिहीबार ललितपुरमा भएको भेलाले बालुवाटार बैठकमा जाने, हाजिर गरेर बहिष्कार गर्ने निर्णय गरेको थियो।
ललितपुरको हेरिटेज गार्डेनमा नेपाल पक्षको कार्यकर्ता भेला चलिरहेको स्थानमा नेपाल पक्षका सांसदहरुको भेला भएको थियो। तर पार्टीका पदाधिकारी बाहेकले बालुवाटार पुगेर हस्ताक्षर गरेर फर्केने निर्णय प्रति सांसदहरु असन्तुष्ट देखिएका थिए। ‘पदाधिकारी बाहेक हामी किन बालुवाटार जाने? नेपाल पक्षका एक सांसदले प्रश्न गरे।
स्रोतका अनुसार प्रधामनन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा अनुपस्थित हुनेलाई स्पष्टिकरण सोध्ने तयारी गरेपछि नेपाल पक्ष बालुवाटार जाने निचोडमा पुगेको थियो। तर निर्णयमा अन्यौल भएको भन्दै उनीहरु दोधारमा परेका थिए। तर भेलामा सहभागी नेता तथा कार्यकर्ताले ओलीले डाकेको संसदीय दलमा सहभागी हुने बिषयमा विरोध जनाएपछि उनीहरु निर्णय परिवर्तन गर्न वाध्य भएको स्रोतले बतायो।
त्यसपछि संसादहरु संसदीय दलको बैठकमा जाने बिषय स्थगित गरेर कार्यकर्ता भेलामा सहभागी भएका थिए। अन्तमा नेता कार्यकताको दवाव पछि बालुवाटार हिँडेका नेपाल पक्षका सांसदहरुको कदम बाटोमा नै रोकिएको थियो।