काठमाडौं, २३ असोज । भर्खरै सम्पन्न राप्रपाको बैठकले नेपाली कांग्रेसले प्रतिनिधि सभामा १५ र प्रदेशमा ३० सिट दिए लोकतान्त्रिक गठबन्धनमा सामेल हुने निर्णय गरेको छ।
कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर सरकारमा समेत जाने तयारी गरेको राप्रपाको प्रस्तावमा दुई पार्टीबीच सहमति भने भइसकेको छैन। तर कांग्रेसले यस अगाडि नै राप्रपालाई प्रतिनिधि सभामा ७ र प्रदेशमा २५ सिट दिन सक्ने बताएको छ।
सोमबार विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने विषयमा छलफल भए पनि निर्णय भने नभएको प्रवक्ता भुवन पाठकले बताए। बैठकमा अध्यक्ष कमल थापाले सरकारमा जाने निर्णय गर्नुअघि एक पटक फेरि कांग्रेससँग छलफल गर्ने बताएका थिए।
उक्त बैठकले सरकारमा सहभागिताको निर्णय गर्न अध्यक्ष कमल थापालाई अधिकार दिएको छ।




