काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई फेरि एकताबद्ध बनाएर अघि बढ्ने बताउनुभएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
देशको राजनीतिक परिवर्तनमाथि षडयन्त्रले हमला भइराखेको भन्दै उहाँले सजग भएर त्यस विरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताउनुभयो । अरुसँग एकिकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै उहाँले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडी बढ्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताउनुभयो । आगामी केन्द्रिय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।