काठमाडौं, २५ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफुले सुन्न नचाहेको बताए ।
कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए । समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पुर्याउन पनि उनले निर्देशन दिए ।
अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन् । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे ।
मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए ।