नयाँ शैक्षिकसत्रमा समयमै पाठ्यपुस्तक पुर्‍याउने जनक शिक्षाको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नयाँ शैक्षिकसत्रमा समयमै पाठ्यपुस्तक पुर्‍याउने जनक शिक्षाको तयारी

कविता कार्की
काठमाडौं, २३ फागुन । नयाँ शैक्षिकसत्रमा पठनपाठन शुरु हुने बेलासम्म सबै विद्यार्थीहरुमाझ पाठ्यपुस्तक पु¥याइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । अधिकारीहरुका अनुसार चैत मसान्तभित्र सात वटै प्रदेशमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको छ ।

विगतका वर्षमा विकट जिल्लामा पाठ्यपुस्तक समयमै नपुग्दा विद्यार्थीहरुको पठनपाठन नै प्रभावित हुने गरेको थियो । तर, छपाईको जिम्मा पाएका विभिन्न निजी प्रकाशकहरुले आवश्यक मात्रामा किताब छपाइको काम अन्तिम चरणमा पुर्‍याएकाले यसपटक पुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । चैत मसान्तसम्ममा ७ सय ५३ वटै स्थानीय तहमा पाठ्यपुस्तक पुर्‍याउन ११ सय बिक्रेताको सूचि पनि तयार भइसकेको केन्द्रका आर्थिक प्रशासन प्रमुख सुजनराज नेपालले जानकारी दिए ।

यदि कुनै पनि शैक्षिक संस्थामा पाठ्यपुस्तक नपुगे वा अभाव भएमा जनक शिक्षाले ७२ घण्टाभित्र उपलब्ध गराउने भएको छ । त्यसका लागि वितरकहरुले हटलाइनमार्फत केन्द्रमा सम्पर्क गर्न सक्नेछन् । हटलाईन सेवा केही दिनभित्रै उपलब्ध गराउने योजना केन्द्रको छ । जनक शिक्षा सामाग्री केन्द्रले कर्णालीका ३ जिल्लामा फागुन पहिलो सातानै पाठ्यपुस्तक पुर्‍याइसकेको छ ।

कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने २२ लाख २४ हजार ९ सय १७ जना विद्यार्थीका लागि १ करोड ९२ लाख थान पाठ्यपुस्तक छाप्नुपर्नेछ । अहिलेसम्म १ करोड ६२ लाख पुस्तक छपाइको काम सकिएको जनक शिक्षाले जनाएको छ ।

सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भन्दै ७ करोड अनुदान प्रदान गरेको छ । अघिल्लो वर्ष नै निजीकरणको अन्तिम तयारीमा पुगेको केन्द्रलाई व्यवस्थापन सुधारको शर्तमा यो अनुदान प्रदान गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);