सत्तारुढ दल भित्रको किचलोले राष्ट्रवाद नै धरापमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सत्तारुढ दल भित्रको किचलोले राष्ट्रवाद नै धरापमा (भिडियोसहित)

प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म आइपुग्दा यतिबेला नेपालको राजनीति अस्थिर बनिसकेको छ । तर अझैपनि नेकपामा भने सत्ता केन्द्रित विवाद उस्तै रहेको देखिन्छ । पछिल्लो समय प्रधानमन्त्री ओलीलाई विस्थापित गरेर सत्ता हत्याउन चाहने पक्षले दिएको सार्वजनिक अभिव्यक्तिले समेत नेकपाको विवादको मुल कारण बाहिरिएको छ । तर यी र यस्ता अभिव्यक्तिले नेपालको राष्ट्रवाद नै धरापमा परेको समेत विश्लेषण भैरहेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि विघटन सम्बन्धी सिफारिसलाई बदर गरिदिएपछि निर्वाचन आयोगमा पुगेको सत्तारुढ दल सम्बन्धी विवाद अहिले थाती लागेको छ । आयोग समक्ष पुगेको दलको आधिकारिकता र चुनाव चिह्नबारेको यो विवादमा कुनै नयाँ प्रकरण शुरु नभएसम्मका लागि आयोगले अहिलेको स्थितीमा कलम चोब्नु पर्ने अबस्था छैन । यसरी हेर्दा नेकपा विवादका सुत्रधारहरुको पदीय हैसियत र उनिहरुकै निरन्तरता कायम रहने देखिएको छ । पार्टीमा अध्यक्षका हैसियतमा ओली र दाहाल अनि वरिष्ठ नेता नेपाल खनालले नै निरन्तरता पाएको अवस्था दोहोरिएको छ । प्रतिनिधि सभाको पुनस्र्थापनासँगै नेकपाका दुवै धारका सांसद एकै थलोमा एकै दलको सदस्यका हैसियतमा उपस्थित हुनुपर्ने बाध्यकारी अबस्था समेत आएको छ ।

यो अवस्थाले एउटै पार्टीका रुपमा अगाडि बढ्न नचाहने समूहले पार्टी विभाजन गर्दा संसद्भित्रै दल विभाजन गर्ने वा दल त्याग गर्ने स्थिती बनाइदिएको छ । त्यहाँ पनि विभाजित हुने कुराले वैधानिकता पाउने परिस्थिति नभएको अबस्थामा अल्पमत–बहुमतका रुपमा एकै दलमा रहनु वा दल त्याग्नुको विकल्प दुबै समूहसँग छैन । कानुनतः केही सदस्यले मात्रै दल त्याग गरेको स्थितीमा संविधानको धारा ८४ (७) बमोजिम रिक्त सदस्य पदहरूको उपनिर्वाचन हुनेछ र बाँकी डेढ वर्षका लागि नयाँ सदस्य निर्वाचित भई आउनेछन् । स्पष्ट रुपमा भन्नु पर्दा सत्तारुढ दलको हालको आन्तरिक किचलोको यथार्थ चित्र यही नै हो ।

प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशका लागि अगाडि बढेका प्रधानमन्त्री ओलीलाई सर्वोच्चको नयाँ आदेशले झनै हाईसन्चोको स्थितीमा पु¥याएको छ भने ओली इतर खेमामा भने छट्पटी देखिएको छ । आफ्नो यहि छट्पटीलाई इतर समुहका नेताले जानेर वा नजानेर सार्वजनिक समेत गर्दै आएका छन् । हालै मात्र ओलीको विरुद्धमा मोर्चा नै कसेर लागेका नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा पार्टीभित्रको आन्तरिक किचलोमा विदेशी हस्तक्षेपका लागि खुलेरै आमन्त्रित गरे । आम नेपाली मुलुकको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप रुचाउँदैनन् । स्वयं प्रचण्डले बेलाबेलामा दिने गरेका विदेशी प्रभुका बारेमा आलोचनात्मक टिप्पणी विपरित आफ्नो नीजि अभिष्टका लागि पार्टी भित्रको किचलोमा आफ्नो हात माथी पार्न विदेशी गुहार्ने हिसाबले प्रचण्डबाथ यस्तो अभिव्यक्ति आएको छ । यसप्रकारको अभिब्यक्ती नेपाली आत्म सम्मानका हिसाबले स्विकार्य बिषय हुँदैहैन ।

प्रचण्डको पछिल्लो भनाईले, नेपाली नेताहरु आफ्नो नीजि स्वार्थका लागि कुनै पनि विदेशी शक्तिसँग हदैसम्म गिरेर सम्झौतागर्न तयार हुन्छन् भन्ने मान्यतालाई समेत स्थापित गरिदिएको छ । ओलीका विरुद्धमा मोर्चा नै कसेर लागेका र हिजो ओली सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको पुर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसि सम्बन्धि सम्झौताका सबैभन्दा उग्र विरोधि पुर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो । तर हालै उहाँले एमसिसि आफैंले कार्यान्वयन गर्ने भन्दै राख्नुभएको विचारले पनि यतिबेला सत्तारुढ दल भित्र विचारको भन्दा पनि ब्यक्तिगत पुर्वाग्रहको लडाईंले प्रधानता पाएको कुरालाई स्पष्ट बनाउँदै लगेको छ ।

कम्युनिष्ट पार्टी उसका विचार, आदर्श र दर्शनबाट चलेको हुन्छ । तर पछिल्लो समय मुलुकको राजनीतिमा हैसियत बनाउन सफल भएको सत्तारुढ दल नेकपा र यसका नेताहरुले परम्परा र मान्यतालाई तिलाञ्जली दिएको आरोप लाग्ने गरेको छ । आफ्नै निहित स्वार्थ सिद्द हुनेगरी सिद्धान्त बनाउनाले बेला बेलामा विदेशीहरुले नेपालमा आफ्नो चलखेल बढाएर राष्ट्रिय आत्मसम्मानकै विरुद्ध खेल्ने अवसर पाएको देखिन्छ । त्यसैबाट आजित जनताले आफ्नो स्वाभिमान कै पनि रक्षा होला कि भन्ने अपेक्षासहित बहुमत दिएर सरकारमा पठाएका तिनै नेताहरु आफ्नो ब्यक्तिगत अहम् तुष्टिका लागि यतिबेला आफ्नै पार्टी र सरकार विरुद्ध मोर्चाबन्दीमा छन् र खुलेरै विदेशी चलखेलका लागि रातो कार्पेट बिच्छ्याउँदै छन् ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयले स्थिती झनै आफू प्रतिकुल बनाएपछि प्रचण्डबाट आएका पछिल्ला अभिब्यक्तिलाई विक्षिप्तताको हदका रुपमा लिने अवस्था आएको छ । अमुक पार्टीहरुसँगको सहकार्यमा सरकार बन्दा अमुक मुलुकलाई फाइदा नै पुग्ने भन्ने उनको यो भनाईले एउटा तथ्यलाई यहाँ स्थापित गरिदिएको छ । वर्तमान सरकारले लिंदै आएका राष्ट्रिय स्वार्थसँग जोडिएका अडानहरु सहि थिए, र तिनै अडानका कारण छिमेकी राष्ट्र वर्तमान सरकारसँग रुष्ट छ । अब त्यो शक्तिलाई सरकार विरुद्ध लागेको खण्डमा आफुले वातावरण बनाई दिने अभिप्रायमा प्रचण्डको अभिब्यक्ति सार्वजनिक भएको थियो ।

यसले स्पष्ट पार्दछ, प्रचण्डमा यसअघि देखिएको राष्ट्रियता, शक्तिमा नपुगुन्जेलका लागि मात्रै हैन शक्ति आर्जनका लागि प्रयोगमा ल्याईने हतियार पनि हो । र जबसम्म यो प्रवृत्तिका नेताहरुको राष्ट्रिय राजनीतिमा हालीमुहाली कायम हुन्छ, तबसम्म समुन्नत राष्ट्रवादको विकास सम्भव छैन । यसर्थपनि यस्ता प्रवृत्ति र पात्रहरुलाई राजनीतिबाटै किनारा लगाउन ढिलाई गर्नु हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);