इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषिमन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषिमन्त्री अर्याल

लमजुङ, १३ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी छिन् ।

नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा बिहीबार इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिईन । कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनले बताईन ।

लमजुङको बेसीशहर नगरपालिका–२, बगालेगाउँ, गाउँशहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ ।

बीएस्सीएजीसम्मको पढाई संचालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्राइने भएको छ ।

त्यस अवसरमा इजरायलका राजदूत खनान गोडेरले ७० बर्षअघिसम्म खाद्यान्न अभाब हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अबस्थामा पुगेको जानकारी दिए । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उनको भनाई छ ।

कृषि मन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा लगायतले बिहीबारै लमजुङको दुराडाँडास्थित ‘आरभा कृषि फार्म’को पनि निरिक्षण गरेका थिए । इजरायलबाट ब्यावसायिक तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुले खोेलेको उक्त अत्याधुनिक कृषि फार्ममा २ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);