भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने स्पष्ट पारेका छन् ।
बुधबार सीटीईभीटीको ३३ र्औ वार्षिक उत्सव समारोहमा पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजिनामा नदिने बताएका हुन् ।
उनले भने–राजिनामा दिन हामी कायर हो ? कुनैपनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । उनले संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।
उनले भने अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौ तर यो निर्णयले झन् विवाद बढाएको छ । संसद पुनर्स्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । उनले भने अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहुन्छ ।
नैतिकताको आधारमा मन्त्रीले राजिनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई मन्त्री श्रेष्ठले सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चेतावनी दिएका छन् ।