काठमाडौं, फागुन ११ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ९ बजे सुरक्षा परिषद् बैठक बोलाउनुभएको हो ।
बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।
त्यसलगत्तै आजै मन्त्रिपरिषदको बैठक बस्नेछ । विहान १० बजे मन्त्रिपरिषदको बैठक पनि डाकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
०००