सर्लाही, ३ फागुन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारीहरुले समयमै काम नगर्दा नागरिकले सास्ती पाउने गरेको गुनासो बढेको छ । सबै प्रक्रिया पुर्याई गएपनि नागरिकता पाउन धेरै दिन कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारण बताउँछन ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय सहित ईलाका प्रशासन कार्यालयमा नागरिकताका साथै राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम हुन थालेपछि प्रशासन कार्यालयमा निकै भिड बढ्न थालेको हो ।
हाल दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय मलगंवामा सय जना हाराहारीमा नेपाली नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी बनाउन आउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार दरबन्दी अनुसार कर्मचारी नहुँदा र सेवाग्राहीको भिड बढेका कारण सेवा प्रवाहमा निकै कठिनाई व्यहोर्नु परेको छ ।