तराईका जिल्लामा नागरिकता लिनेहरुको भिड | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

तराईका जिल्लामा नागरिकता लिनेहरुको भिड

nagarikta

अनुप तिवारी-शम्भुमाली-कपिल अधिकारी-राकेश यादव
वीरगन्ज-कपिलवस्तु-रुपन्देही-रौतहट, १९ बैशाख । तराईका अधिकांस जिल्ला प्रशासन कार्यालयहरुमा अहिले नागरिकता लिनेहरुको भीड लागेको छ । गृह मन्त्रालयले गरेको परिपत्र अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्न सर्वोच्च अदालतले दिएको आदेशपछि नागरिकता लिनेहरुको भिड बढेको हो ।

सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्न आदेश दिएसंगै कपिलवस्तु, रुपन्देही, पर्सा, रौतहट लगायतका तराईका अधिकाँस जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिनेहरुको भिड लागेको छ । बैशाख २ गते सर्वोच्च अदालतले जन्मसिद्धको सन्तानलाई वंशज नागरिकता वितरण गर्ने अवरोध हटाएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेको भिड एक्कासी बढेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मात्रै विगत दुई सातामा ४ सय २० जनालाई वंशजको अधारमा नागरिकता वितरण भएको छ भने एक हजार भन्दा बढी प्रक्रियामा रहेको छ । यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पनि बैशाख १६ गतेसम्म जम्मा एक सय ३२ जनाले बंशजको नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पनि सर्वोच्चको आदेशपछि ७ सय २४ जनालाई नागरिकता वितरण भईसकेको छ । भिडका कारण जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली लागु गरिएको भएपनि धेरै समयसम्म कार्यालय धाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

यता रुपन्देहीमा भने सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साथसाथै इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय बजगाँउले पनि नागरिकता वितरण गरिरहेको छ । नागरिकता बनाउन आउनेहरुको घँुइचोका कारण सेवाग्राहीहरु सेवा लिन असहज भएको गुनासो गर्छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पनि वशंजको आधारमा नागरिकता लिनेहरुको भिड लागेको छ । कार्यालय खुल्ने समय बिहान १० बजे भएपनि नौ बजेदेखि नै लामो लाइन देख्न सकिन्छ । नागरिकता बनाउन आवश्यक कागजपत्र एकै चोटी नमाग्नाले धेरै पटक कार्यालय धाउनु पर्ने र लाइन बस्नु परेको सेवाग्राहीहरुको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भने अहिले उच्च सतर्कता र निगरानीका बीच जन्मसिद्धका सन्तानलाई बशंजको आधारमा नागरिकता वितरण भईरहेको छ । झुठो विवरण पेश गरी नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ परेपछि कडा निगरानीका बीच नागरिकता वितरण भइरहेको हो ।

नागरिकहरुको सहजताका लागि आवश्यक कागजात प्रमाणपत्रको कार्यबिधि नै बनाएर स्थानीय तहमा पठाएर सरलरुपमा काम सकाउने प्रयत्न भईरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

नागरिकताबाट वन्चित जन्मसिद्धका सन्तानको उच्च शिक्षा, व्यवसाय तथा बैदेशिक रोजगारमा समस्या थियो । अहिलेको नागरिकता वितरणले एकातिर जन्मसिद्धको सन्तानलाई राहत भएको छ भने अर्कोतिर भिडलाई अवसरको रुपमा लिएर बीरगन्जमा व्यवसायिक उद्देश्यले बस्दै आएका केही भारतीयले पनि नक्कली विवरण पेश गरी नागरिकता लिने दाउमा रहेको देखिन्छ ।

केही भारतीयले नक्कली विवरण बुझाई नेपाली नागरिकता लिएको र केही पक्राउ परेका समाचार पनि आइरहेका छन् । स्थायी बसोबास , विजुली बिल भुगक्तानी गरेको, जग्गा दर्ता प्रमाण भएको, लगायतका ११ वटा मापदण्ड पुरा गरेर मात्र नागरिकता प्रदान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);