बागलुङमा बाढीबाट घर गुमाएका जनताको पुनर्स्थापना हुन सकेन, ६ महिनापछि बन्यो कार्यविधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बागलुङमा बाढीबाट घर गुमाएका जनताको पुनर्स्थापना हुन सकेन, ६ महिनापछि बन्यो कार्यविधि

सुवास आचार्य
बागलुङ,२५
माघ । सरकारले विपदग्रस्त जिल्ला घोषणा गरि बाढी पहिरोले क्षति पुगेका बागलुङका करिब ६ सय घर पुनर्निर्माण गर्ने भनी घोषणा गरेको ६ महिनापछि बल्ल गृह मन्त्रालयले कार्यविधि बनाएर जिल्लामा पठाएको छ । घरवारविहीन जनतालाई तत्काल बस्ने घरवासको प्रवन्ध मिलाउने आश्वासन दिएको ६ महिनापछि बल्ल सरकारले नीति बनाएर जनताको आँखामा छारो हाल्ने काम गरेको देखिन्छ ।

बिपतग्रस्त जिल्ला घोषणा गरेको ६ महिनापछि बल्ल गृह मन्त्रालयले बाढीपहिरोबाट घरबास गुमाएका व्यक्तिहरूको विवरण बुझ्न कार्यविधि २०७७ पठाएको छ । राहत दिएर पुनर्निर्माण गर्न सहयोग गर्ने भनेर सरकारले घोषणा गरेको ६ महिनापछि मनसुनजन्य बिपद प्रभावित निजी आवास पुनर्निर्माण–पुनर्स्थापना कार्यविधि जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

अहिले सरकारले बनाएको कार्यविधि अनुसार पुर्ण रूपमा घरवारबिहिन भएका व्यक्तिलाई पहाडी क्षेत्रमा ४ लाख, हिमाली क्षेत्रमा ५ लाख र तराई क्षेत्रमा ३ लाख रकम घर पुनर्निर्माणको लागि दिने नीति बनेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

निर्णय भएको महिनौ बितिसक्दा समेत बाढीबाट घरबास गुमाएका जनताले राहत पाउन नसक्नु दुखद कुरा भएको बताउँदै छिटोभन्दा छिटो काम गरेर देखाउनु पर्ने बागलुङ क्षेत्र नम्बर २ का निर्वतमान संघीय सांसद देवेन्द्र पौडेलले जोड दिनुभयो ।

बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २ सय २९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५सय ९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनर्निर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । घरवारविहिन भएका जनतालाई ६ महिना वितिसक्दा समेत सरकारले काम गर्न नसक्दा चिसो मौषममा त्रिपाल र जस्तावाताको छाप्रोमा वस्नुपर्ने वाध्यता रहेको स्थानीय बताउछन् ।

बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो । ढोरपाटनको भूजीखोलामा आएको बाढीमा मात्रै २२ जनाको मृत्यु भएको थियो भने १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटनामा वृद्धि भएका थिए ।

सरकारले बागलुङ र सिन्धुपाल्चोक जिल्लालाई बिपदग्रस्त जिल्ला घोषणा गरी बाढी पहिरोले क्षति पुगेका नागरिकको लागि घर पुनर्निर्माण गर्ने भनी घोषणा गरेका भएपनि ६ महिना सम्म काम हुन नसक्दा स्थानीयले सरकारको अनुभुती गर्न पाएका छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);