काठमाडाैं, १८ माघ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेका सिफारिसहरूलाई फिर्ता पठाउनु भएको छ ।
संवैधानिक परिषद्ले गत पुस ५ मा प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको भन्दै सभामुखसमक्ष सिफारिस पठाएको हो ।
सरकारले संवैधानिक परिषद्मा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै फिर्ता पठाएको जनाउनु भएको छ । अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिइएको उहाँको भनाइ छ ।
गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बहसको क्रममा रहेको छ ।