भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन

सुवास चौलागाईँ
भक्तपुर, १३ माघ ।
भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्रका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बसी भक्तपुरमा मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदानस्थल सहज नभएको र अपुग रहेको निष्कर्ष निस्किएपछि आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन गरिने भएको छ ।

भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका एउटा मतदानस्थल परिवर्तन गरिने भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार भक्तपुर नगरपालिका साविक वडा नं. ५ कार्यालय भोलाछें र साविक वडा नं. ९ चोछेंस्थित बालबोध शान्ति विद्यालयलाई परिवर्तन गरी ख्वपकलेज कायम गर्ने निर्णय गरिएको छ ।

मतदान केन्द्र साँघुरो भएपछि नगरपालिकाको साविक वडा नं. ५ र ९ लाई समायोजन गरी मतदातालाई पायक पर्ने गरी भक्तपुर नगरपालिका–६ देकोचास्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गरिने भएको उहाँले जानकारी दिनुभयो ।

यता भक्तपुर नगरपालिका–२ यालाछेंस्थित शारदा माविको मतदानस्थल साँघुरो भएपछि यसको सट्टा भक्तपुर नगरपालिका–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने निर्णय गरिएको बीसीले जानकारी दिनुभयो ।

नगरपालिका-५ भगवतीस्थानस्थित वरदायणी प्राविको भवन साँघुरो भएपछि सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलको रुपमा कायम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यसैबीच सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित महेन्द्र माविको मतदानस्थललाई परिवर्तन गरी सोही वडाको कटुञ्जे आधारभूत विद्यालयमा कायम गर्ने भएको छ । यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रलाई नयाँ मतदानस्थल कायम गरिने भएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ को कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदानस्थल साँघुरो भएपछि कौशल्टार चोकस्थित आदर्श जनप्रेमी कलेजमा मतदानस्थल कायम गरिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);