भक्तपुरका गाउँगाउँमा नेकपा ओली समूहको कार्यकर्ता भेला सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

भक्तपुरका गाउँगाउँमा नेकपा ओली समूहको कार्यकर्ता भेला सुरु


काठमाडौँ, ११ माघ । भक्तपुरमा प्रधानमन्त्री केपी शर्मा समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँ गाउँमा आफ्ना अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

नेकपाका अध्यक्ष ओली पक्षले गाउँ गाउँमा कार्यकर्तालाई संसद विघटन गर्नु पर्ने कारण र आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने गरी चुनावमा जान तयारी स्वरुप वडा वडामा भेला आयोजना गरेको नेकपा भक्तपुरले जनाएको छ । नेकपाले सूर्यविनायक वडा नं. १ सिरुटारले आयोजना गरेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मति प्रदेश सभाका सांसद शशीजंग थापाले स्वार्थीहरुको झुण्डका कारण नेकपा विभाजनको संघारमा पुगेको बताउनुभयो । नेताहरुलाई गाली गलौजमा नउत्रिन आग्रह गर्दै उहाँले धेरै दुख पाए पछि चोइटिएर गएकाहरु फर्केर मूलधारमै आउनुको बिकल्प नभएको बताउनुभयो यता कार्यक्रममा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नेकपाको संस्थापन पक्ष प्रधानमन्त्री ओली नै भएको बताउदै केही तत्व छाडेर गएपनि बहुमत संस्थापन पक्षसंग रहेको दाबी गर्नुभयो ।

यस्तै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नेकपाबाट विजयी भएका जनप्रतिनिधी संस्थापन पक्ष मै रहेको बताउदै जनप्रतिनिधीले गरेको विकासको आधारले नै जनताले विश्वास गर्ने बताउनुभयो ।नेकपा सिरुटार वडा कमिटीका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सूर्यविननयक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा अध्यक्ष सानुकाजी कायस्थलगायतका नेताहरुले नेकपाको बलियो आधारलाई कायम राख्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको आयोजना भएको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले चोर बाटोबाट सत्ता प्राप्तीको खेलमा लाग्ने तत्वहरुका कारण पार्टीमा फुट आएको बताउनुभयो ।कार्यक्रममा वाग्मती प्रदेशका सांसद एवं नेकपाका केन्द्रिय सदस्य शशी जंग थापाले प्रचण्डले कहिले पनि सूर्य चिन्हमा चुनाव नलडेको बताउनुभयो ।

सूर्य चिन्ह संस्थापन ओली पक्ष कै हो भन्दै प्रदेश सांसद थापाले ९९५ जनप्रतिनिधि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा रहेको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका उप–प्रमुख जुना बस्नेतले अहिले भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आत्तिनुपर्ने अवस्थामा नरहेको बताउनुभयो ।

उहाँले प्रचण्डले जुन–जुन पार्टीमा अहिलेसम्म प्रवेश गर्नु भयो उहाँले त्यो पार्टीलाई ध्वस्त बनाउनु भएको भन्दै चुनावमा एकीकृत रुपमा लडे पनि पार्टी एकीकरण गर्नु नहुने बताउनुभयो ।

Leave a Reply