सिरहा, १० माघ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा रहेको जिवा खोलाको पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मिर्चैयावाट खटिएको प्रहरी टोलिले पूर्वपश्चिम राजमार्गमा आवतजावत ठप्प पारेको थियो ।
सिरहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माले बताउनुभयो ।