दल बदल्न दौडधुप, टिकटको आसमा पार्टी प्रवेश ! | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

काठमाडौं, १९ असोज । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ । उनीहरूका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले रातो कार्पेट बिछ्याएका छन् । मधेसी दलका नेता–कार्यकर्तालाई रातो टीका लगाएर आफ्नो पार्टीमा स्वागत गर्ने होड तीनै दलबीच चलिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल असोज ५ देखि कृष्णनगर आई पार्टीमा नवप्रवेशीलाई स्वागत गरेसँगै यहाँको माहोल तातेको हो । यहाँ ठूला पार्टी छाड्नेभन्दा पनि साना पार्टीका नेता–कार्यकर्ता ठूला पार्टीमा प्रवेश गर्ने क्रम तीव्र छ । दाहालले फोरम नेपालका जिल्ला नेतालाई पार्टी प्रवेश गराएकै दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्ववरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापालाई पार्टीमा स्वागत गरे । चन्द्रौटामा आयोजित कार्यक्रममा थापासँगै राप्रपा नेपालका आमन्त्रित सदस्य अजय थापा पनि कांग्रेस प्रवेश गरे।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य असरारुद्दिन मुसलमान मंगलबार एमालेमा प्रवेश गरे । केही समय पार्टीको विदेश विभागमा रहेका मुसलमानलाई पकडीमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले फूलमाला पहिर्‍याएर पार्टीमा भित्र्याए । उनीसँगै धेरै नेता एमाले प्रवेश गरे । असोज ८ मा राजपाका सहमहासचिव मिर्जाअरसद बेग एमाले प्रवेश गरेसँगै सुरु भएको अभियानले सोमबार ठूलो फडको मार्‍यो।

जिल्लाका प्रभावशाली नेता तथा राजपाका उपमहासचिव बृजेशकुमार गुप्ता र केन्द्रीय सदस्य ईश्वरदयाल मिश्र सूर्य चिह्नबाट आगामी निर्वाचन लड्ने भएका छन् । उनीहरूले प्रवेश नगरे पनि एमालेसँग नजिकिएर सहकार्य गर्ने बताएका छन् । गुप्ता पूर्वमन्त्री तथा मिश्र पूर्वराज्यमन्त्री हुन्।

दुई नेता एमालेसँग नजिकिएसँगै जिल्लामा राजपाको अस्तित्व संकटमा देखिएको छ । अभिषेकप्रताप शाहले मंगलबार पत्रकार सम्मेलन गरी जनअधिकार फोरम नेपालका उपमहासचिव र साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

पार्टी संस्थागत रूपमा चल्न नसकेको, व्यापारी र पैसावाल हावी भएको भन्दै आफूले फोरम नेपालमा लोकतान्त्रिक परिपाटी नरहेकाले राजीनामा दिन बाध्य भएको बताए । तीन ठूला दल जिल्लाका अन्य दलका नेतालाई पार्टीमा भित्र्याउन कुराकानी गरिरहेका छन् । एमाले र माओवादीका आँखामा कांग्रेसका वीरेन्द्र कनोडिया र राजपाका मंगलप्रसाद गुप्ता परेका छन् । दुवै पार्टी उनीसँग संवादमा छन्।

टिकटको आसमा पार्टी प्रवेश

सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको स्थानीय चुनावमा निकटतम प्रतिद्वन्द्वी भएका स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार निरसल साहले पराजित गरेका थिए । प्रदेशसभामा टिकट पाउने आश्वासनपछि उनी कांग्रेस प्रवेश गरेका हुन् । नेता विमलेन्द्र निधिको हातबाट आइतबार उनले पार्टी सदस्यता लिए । यादवसहित उनका समर्थक पार्टी प्रवेश गरेको कांग्रेस जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिए। आजको कान्तिपुर दैनिकमा खबर छ।